काठमाडौँ । अमेरिकाको राष्ट्रिय ऋण ४० ट्रिलियन डलर भन्दा बढी पुगेको छ । राजस्वभन्दा खर्च बढ्दै गएको छ । यो अमेरिकाको इतिहासमै सबैभन्दा बढी राष्ट्रिय ऋण भएको ट्रेजरी विभागले जनाएको छ ।
अमेरिकाको ट्रेजरी विभागले सामाजिक सुरक्षा कार्यक्रमहरू र ब्याज भुक्तानीका लागि बढेको चर्को खर्चले राजस्वलाई धेरै पछाडि छाडेकाले देश गम्भीर आर्थिक संकट निम्तिन सक्ने नयाँ चेतावनीहरू जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्रेजरी विभागको पछिल्ला दैनिक नगद तथा ऋण मौज्दात विवरण अनुसार मंगलबार कुल सार्वजनिक ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ । यो कुल रकममा जनताको स्वामित्वमा रहेका ट्रेजरी सेक्युरिटीज ३२.२६६ ट्रिलियन डलर र अन्तरसरकारी ऋण ७.७८२ ट्रिलियन डलर समावेश छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०१७ मा पहिलो पटक शपथ लिँदा १९.९५ ट्रिलियन डलर रहेको संघीय सरकारको यो ऋण एक दशकभन्दा कम समयमै दुई गुणाभन्दा बढी बढेको हो । यो वृद्धिको लगभग एकतिहाइ हिस्सा ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनद्वारा कोभिड–१९ महामारीको प्रतिकार्यका लागि गरिएको तीव्र सरकारी ऋणको दुई वर्षको अवधिमा भएको थियो । बाँकी हिस्सा भने दुवै राष्ट्रपतिका राजनैतिक छनोटहरू र लामो समयदेखिको कर तथा खर्चबीचको असन्तुलनका कारण बढेको बढाइएको छ ।
कानुन निर्माताहरूले दिगो नभएको यो आर्थिक अवस्थालाई सम्बोधन नगरेमा र कर नबढाइएमा, खर्च कटौती नगरिएमा वा दुवै नगरिएमा ठूलो किसिमको ऋण संकट आउन सक्ने चेतावनी दिएको समाचारमा उल्लेख छ ।
कमिटी फर अ रिस्पोन्सिबल फेडरल बजेटकी अध्यक्ष माया म्याकगुइनेसले यो हरेक अमेरिकी नागरिकको खल्तीसम्म पुगेको बताइन् । ‘४०
ट्रिलियन डलरको ऋण केवल सरकारको खातामा मात्र सीमित छैन, यसको असर सम्पूर्ण अर्थतन्त्रमा परिरहेको छ र कुनै न कुनै रूपमा आम नागरिकको खल्तीसम्म पुगिरहेको छ’ मायाले भनिन् ।
उनले ३९ ट्रिलियन डलर पुगेको पाँच महिनाभन्दा कम समयमै ४० ट्रिलियन डलरको आँकडा पार भएको बताउँदै सन् १९८१ मा पहिलो पटक १ ट्रिलियन डलर पुग्न लामो समय लागेकोमा अहिले २० वर्षभन्दा कम समयमा यो चार गुणा बढेको उल्लेख गरिन् ।
पछिल्लो एक वर्षमा ट्रेजरी बण्डको करिब एकतिहाइ हिस्सा ओगटेका विदेशी लगानीकर्ताहरूको माग घट्दै गएको बताइएको छ ।
२५ अर्ब डलरको ३० वर्षे ट्रेजरी बण्ड लिलामी सन् २०२१ यताकै उच्च प्रतिफलमा बन्द भएको केही दिनपछि, मंगलबार लामो अवधिका बण्डहरूको प्रतिफल करिब दुई दशककै उच्च विन्दुमा पुग्यो। अमेरिकी सरकारले भारी मात्रामा बण्ड जारी गर्दा लगानीकर्ताहरूले ठूलो क्षतिपूर्तिको माग गरेपछि यस्तो अवस्था आएको हो।
बण्डको प्रतिफल घट्न अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले १० देखि ३० वर्षसम्मका ट्रेजरीहरूको ब्याकबाइप आकारलाई दोब्बर बनाउँदै प्रति अपरेशन कम्तिमा ४ अर्ब डलर पुर्याउने घोषणा गरेका छन् ।
जनवरी २०२५ मा डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि कुल अमेरिकी ऋण ३.८ ट्रिलियन डलरले बढेको छ ।
गत हप्ता ट्रेजरी विभागले इतिहासमै चौथो ठूलो मासिक घाटाको रिपोर्ट सार्वजनिक गरेको थियो — जसमा जुलाई महिनामा मात्र ४३२ अर्ब डलर घाटा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
युक्रेन र इरान युद्धमा अमेरिकाले गरेको अनावश्यक खर्चले पनि आर्थिक भार बढ्दै गएको छ । युक्रेन र इरान युद्धमा अमेरिकाले अनावश्यक खर्चले देशको आर्थिक अवस्था जर्जर बन्न दिशामा रहेको भन्दै अमेरिकी नागरिकले सरकारी नीतिको विरोध गरेका छन् ।


अनलाइन डबली

