आज :

कांग्रेसको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु, निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

  • अनलाइन डबली

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले निर्वाचन समितिको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भए पनि त्यसको निष्पक्षता सबैभन्दा महत्वपूर्ण हुने बताए।

उनले विगतका महाधिवेशनमा पनि निर्वाचन समितिका संयोजक तथा सदस्यहरू पार्टी नेतृत्वबाट प्रस्तावित भए पनि निर्वाचनको जिम्मेवारी लिएपछि निष्पक्षता कायम गरेकै कारण सबैले निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था बनेको बताए।

थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई निर्वाचन समितिको संयोजकको जिम्मेवारी दिँदा पनि राजनीतिक रुझानभन्दा माथि उठेर निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको बताए।

उनले भने, ‘पार्टीभित्रको राजनीतिक रुझान, लाइक, डिस्लाइक, आफूलाई को मनपर्छ, को मनपर्दैन, त्यो छुट्टै विषय हो। तर निर्वाचनको काम सुरु भइसकेपछि सबैले यसमा फेयरनेस महसुस गर्न पाउनुपर्छ।’

सभापति थापाले महाधिवेशनमा सदस्यता र निर्वाचन प्रक्रिया मुख्य विषय रहेको उल्लेख गर्दै यसपटक सदस्यता डिजिटलाइज भइसकेकाले विगतमा जस्तो विवाद नहुने दाबी गरे।

उनका अनुसार महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले सदस्यताको विषय टुंग्याएर निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछ। सोही सदस्यता सूचीलाई मतदाता सूचीका रूपमा प्रयोग गरिने उनले बताए।

सदस्यता वा निर्वाचन समितिको निष्पक्षतामाथि कुनै आशंका भए आफू खुला छलफलका लागि तयार रहेको पनि थापाले बताए।

उनले भने,‘सदस्यताको सन्दर्भमा कुनै प्रश्न छ वा अहिले गरेको काम निष्पक्ष भएन भन्ने आशंका छ भने अर्को कुन समिति बनाउनुपर्ने हो, कसरी बनाउनुपर्ने हो, त्यसका लागि म तयार छु, हामी तयार छौँ।’

थापाले असोज १६ गतेदेखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै मंगलबारदेखि महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताए। निर्वाचन समितिले तयार गरेको कार्यतालिकाअनुसार सबैले अघि बढ्नुपर्ने उनको भनाइ छ।

महाधिवेशनको मिति र स्थान केन्द्रीय कार्यसमितिले तय गर्ने तथा त्यसअघि गर्नुपर्ने निर्वाचनसम्बन्धी कार्यतालिका निर्वाचन समितिले तय गर्ने पार्टीको परम्परा रहेको उनले स्पष्ट पारे।

थापाले समयको चाप रहे पनि यसपटक सदस्यता डिजिटलाइज भएकाले विगतभन्दा प्रक्रिया सहज हुने अपेक्षा व्यक्त गरे। छोटो समयमा सम्पन्न गर्नुपर्ने काममा कुनै अनियमितता वा पूर्वाग्रह नदेखिने गरी प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए।

‘कहीं कतै कुनै पनि खालका अनियमितता भएनन् वा कोहीप्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुनेगरी गर्नुपर्ने छ,’ उनले भने।

सभापति थापाले महाधिवेशनका क्रममा जिल्लास्तरमा कानुन व्यवसायी, शिक्षक, प्राध्यापक तथा अन्य पेसाकर्मीलाई समेत निर्वाचन प्रक्रियामा सहभागी गराउन आग्रह गरे।

उनले यसपटक विधानमा भएका नयाँ व्यवस्था, नियम तथा निर्वाचन निर्देशिकाबारे सबैलाई जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए। महाधिवेशन सम्पन्न भएपछि ‘फेयर अधिवेशन भयो’ भन्ने अवस्था निर्माण गर्न पार्टी नेतृत्व र निर्वाचन समितिले काम गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal