आज :

रिसाङमा पहिरोपछि अझै त्रास, दुई सय नागरिक सुरक्षित स्थानमा

  • अनलाइन डबली

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोका कारण जनजीवन अझै प्रभावित बनेको छ ।

पहिरोमा परी चार जनाको मृत्यु भएपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । लगातार वर्षा भइरहेकाले बस्तीमा थप पहिरोको जोखिमसमेत कायमै रहेको छ ।

शनिबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण रिसाङ तथा आसपासका क्षेत्रमा पहिरो जाँदा घर तथा टहरा क्षतिग्रस्त भएका छन् । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।

पहिरोको उच्च जोखिममा रहेका रिसाङ, फारुला, चिसापानी, झ्यालीखेत डाँडा र राउटेरे डाँडालगायत क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उनीहरूलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ । त्यहाँ विस्थापित नागरिकको स्वास्थ्य परीक्षणसमेत भइरहेको छ ।

उद्धार तथा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमै रहन र थप वर्षा तथा पहिरोको जोखिमलाई ध्यान दिँदै सावधानी अपनाउन आग्रह गरिएको छ ।

यसैबीच, कर्णाली प्रदेश सरकारले पहिरो प्रभावितका लागि राहत सामग्री पठाएको छ । प्रदेश सरकारले १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम पठाएको जनाएको छ ।

स्थानीयवासी अहिले तत्काल घर फर्किने अवस्थाभन्दा पनि सुरक्षित स्थानमा बसेर वर्षा रोकिएपछि मात्र जोखिमको मूल्यांकन गर्नुपर्ने अवस्थामा छन् । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले उद्धार, राहत तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् ।

रिसाङमा अहिलेको मुख्य चुनौती भनेको निरन्तर वर्षाका कारण थप पहिरोको सम्भावना, विस्थापित परिवारको सुरक्षित बसोबास, खाद्यान्न तथा स्वास्थ्य सेवा र क्षतिग्रस्त सडक तथा बाटोको अवस्था हो ।

रिसाङमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । चार जनाको ज्यान जाने गरेर आएको बाढी तथा पहिराले १० जना घाइते भएका छन् । दर्जनौ मानिसहरु घर छाडेर खुल्ला आकाशमा विद्यालयमा आश्रय लिइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा तथा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको समन्वयमा सोमबार विहानदेखि त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट प्राविधिक प्रहरी नायब उपरीक्षक अमितकुमार ठाकुरको कमाण्डमा ६ जना स्वास्थ्यकर्मी तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ७ जना प्रहरी कर्मचारीको टोली खटिएको छ ।

स्वास्थ्य शिविरमा ८५ जना पहिरो प्रभावित स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधिसमेत निःशुल्क वितरण भएको छ ।

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकलाई विपद्को समयमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

नेपाल प्रहरीले विपद्का समयमा सुरक्षा, उद्धारसँगै स्वास्थ्य तथा मानवीय सेवामा समेत निरन्तर सहयोग गर्दै आएको जाजरकोटका प्रहरी प्रमुख बुद्धीसागर पुरीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal