काठमाडौँ । संसदलमा प्रतिनिधित्व गर्ने र बाहिर भएका गरी ९ दलको बैठकले सुनसरी घटनाबारे साझा धारणा बनाएको छ । बुधबार सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलिय बैठकपछि सात बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।
बैठकपछि जारी विज्ञप्तिमा आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति सबै सचेत हुनु जरुरी भएको बताइएको छ । उनिहरुले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
बैठकले पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
‘नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै बैठकले शान्तिपूर्ण संवाद र सहमतिको आह्वान गर्दै भनिएको छ, ‘लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं ।’
त्यसैगरी बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान गर्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न आआफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन पनि दिइएको छ ।
बैठकमा सत्तारुढ पार्टी रास्वपाका सभापति लामिछाने, नेपाली कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी थिए ।


अनलाइन डबली

