काठमाडौं । आज देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गरेर स्वास्थ्यर्मी आन्दोलनमा उत्रिएका हुन् ।
अस्ती साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । उक्त घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो ।
सोही विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा भएको वार्ताको क्रममा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी केन्द्रीय कारयकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको संघको आरोप छ । संघले एसपी र सिडिओलाई कारबाहीको माग गर्दै आजको बन्दको कार्यक्रम घोषणा गरेको हो ।
आजको कार्यक्रम पछि पुनः थप कार्यक्रमको लागि सर्वपक्षीय भेला बस्ने र त्यसपछि थप कार्यक्रम तय गर्ने संघले बताएको छ ।
चिकित्सिकहरु विरोधमा उत्रिएपछि देशभरका अस्पतालमा उपचार प्रभावित भएको छ । विरामीहरु अलपत्र परेका छन् भने भर्ना भएका विरामीहरुको उपचार समेत प्रभावित भएको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल गरेका छन् ।


अनलाइन डबली

