काठमाडौं । आज फिफा विश्वकप- २०२६ को फाइनल खेल हुँदैछ । उपाधिकाे लागि यसअघिकाे विजेता अर्जेन्टिना र स्पेनबीच खेल हुँदैछ ।
कसले उपाधि जित्ला भनेर चर्चा र चाँसो भइरहेको बेला अर्जेन्टिनका कप्तान लियोनेल मेस्सीले आफ्ना टोलीका खेलाडी, प्रशिक्षक तथा समर्थकप्रति भावुक सन्देश व्यक्त गर्दै टोलीको सबैभन्दा ठूलो उपलब्धि उपाधिभन्दा पनि सँगै बिताएको यात्रा भएको बताएका छन् ।
स्पेनविरुद्ध हुने विश्वकप फाइनलअघि इन्स्टाग्राममार्फत सन्देश साझा गर्दै मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई एउटा परिवारका रूपमा स्थापित गर्न सबैले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।
‘यी सबै वर्षहरूको सबैभन्दा सुन्दर पक्ष केवल उपाधि थिएन, सँगै तय गरेको सम्पूर्ण यात्रा थियो । कठिन समयमा एकअर्कालाई साथ दिँदै, हरेक क्षणलाई रमाइलो बनाउँदै अघि बढ्नु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,’ मेस्सीले लेखेका छन् ।
आठ पटकका बालोन डीओर विजेता मेस्सीले आफ्ना सबै सहकर्मी, प्रशिक्षक र टोलीसँग जोडिएका सम्पूर्ण सदस्यलाई धन्यवाद दिँदै जे भए पनि यो अर्जेन्टिनी टोलीले इतिहासमा अमिट छाप छोडिसकेको बताए ।
‘भोलि जे भए पनि यो टोलीले यस्तो इतिहास लेखिसकेको छ, जसलाई कसैले मेटाउन सक्दैन । अर्जेन्टिना, अघि बढछ,’ उनले भने । न्युयोर्कको न्युजर्सी स्टेडियममा आइतबार हुने फाइनलमा साविक विजेता अर्जेन्टिनाले युरोपियन च्याम्पियन स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा छ भने स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्ने प्रयासमा छ ।
सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । खेलमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि लाउटारो मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए ।
यता स्पेनले फ्रान्सलाई २–० ले हराउँदै दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो। लामिन यामालले उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टी जिताएका थिए, जसलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनलाई सहज जित दिलाए ।
फाइनलअघि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले अर्जेन्टिनाविरुद्धको खेल उच्चस्तरीय र रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन् । दुवै टोलीको खेल शैली, प्रतिभा र आक्रामक फुटबलप्रतिको प्रतिबद्धता समान भएकाले समर्थकले उत्कृष्ट प्रतिस्पर्धा हेर्न पाउने उनले बताए ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने उपाधि जित्न टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन् । उनले स्पेनको खेल शैलीको विस्तृत अध्ययन गरिएको उल्लेख गर्दै अर्जेन्टिना आफ्नो उत्कृष्ट संस्करण प्रस्तुत गर्न तयार रहेको बताए ।
स्कालोनीले ३९ वर्षको उमेरमा पनि अर्को विश्वकप फाइनलमा पुगेका मेस्सीको विशेष प्रशंसा गर्दै उनलाई फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक भएको उल्लेख गरे । उनले मेस्सी र वर्तमान अर्जेन्टिनी टोलीले पछिल्ला वर्षहरूमा देशलाई अविस्मरणीय सफलता दिलाएको बताए । एएनआई


अनलाइन डबली


