काठमाडौं । बालेन नेतृत्वको सरकारविरुद्ध सुकुम्बासीदेखि कर्मचारी सडकमै उत्रिएका छन् । शिक्षकहरुले पनि आन्दोलनको घोषणा गरिसकेका छन् । केही दिनदेखि करार र ज्यालादारी कर्मचारीहरु सरकारविरुद्ध सिंहदरबारभित्रै आन्दोलनमा उत्रिएका छन् ।
आफूहरुलाई सरकारले खाली हात घर फर्काउन लागेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । आजपनि कर्मचारीहरुले काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
बालेन शाहले सरकारको नेतृत्व गरेलगत्तै संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने तयारी थालेका थिए ।
सरकारी तथ्यांकअनुसार अहिले संघ सरकार मातहत करिब १४ हजार, प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।
बर्षौदेखि जनताको सेवा गरेर पनि आफूहरुलाई साउन १ गतेबाट खाली हात घर फर्काउन लागेको भन्दै अस्थायी करार तथा ज्लालादारी कर्मचारी आन्दोलनमा उत्रिएको अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराज श्रेष्ठले बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा यही प्रकृतिका कर्मचारीहरूको पनि गणना गर्दा सरकारको यो निर्णयले करिब २ लाख जनाले जागिर गुमाउने अवस्था रहेको बताए ।
सरकारले करार र ज्यालादारी कर्मचारीलाई हटाएर ठेकेदारमार्फत कर्मचारी ल्याउने तयारी भइरहेको उनिहरुको आरोप छ । ठेक्का प्रथाबाट कर्मचारी नियुक्तिको लामो समयदेखि विरोध भइरहँदा पनि सरकार त्यही बाटोमा हिडेको छ ।


अनलाइन डबली

