आज :

हर्क साम्पाङ्गको अभियानमा हर्क योङहाङ : ‘नेपाल अब श्रम संस्कृति पार्टीमय हुनेछ’ 

  • अनलाइन डबली

काठमाडौं । श्रम संस्कृति पार्टी पाँचथरका उपाध्यक्ष तथा हिलिहाङ दरबार संरक्षणका अभियन्ता हर्कबहादुर योङहाङ लिम्बुले नेपालको राजनीति अब नयाँ मोडमा प्रवेश गरिरहेको दाबी गरेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले श्रम संस्कृति पार्टी पूर्वी नेपालमा मात्र सीमित नरहने भन्दै निकट भविष्यमा हिमाल, पहाड, तराई, मेचीदेखि कालीसम्म विस्तार हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मलाई लाग्छ निकट भविष्यमा, हिमाल, पहाड, तराई, मेची, काली सबैतिर श्रम संस्कृतिमय हुँदैछ । किनकि अब समय र नेपाली जनताले सोचेको र समयको माग त्यही हो । त्यसैले एउटा सीमित ठाउँलाई मात्रै कोड गर्नुहुँदैन । समग्रमा नेपालको हिमाल, पहाड, तराई, मेची, काली सबैतिर अब अन्तिम सत्य र तथ्य पनि श्रम संस्कृतिमय हुनुपर्छ ।’

उनका अनुसार वर्तमानको आवश्यकता श्रम, स्वदेशी उत्पादन, स्वदेशी प्रयोग, प्रकृति, संस्कृति र प्रविधिमा आधारित राजनीतिक सोच हो । यही विचारले देशलाई बचाउने र समृद्ध बनाउने उनको तर्क छ ।

योङहाङले देशमा भ्रष्टाचार, बेथिति र राजनीतिक विकृतिले सीमा नाघेको टिप्पणी गर्दै नेपाली नागरिकमा व्यापक असन्तुष्टि रहेको बताए । उनले भविष्यमा नेपालको राजनीति दुई धारमा विभाजित हुने दाबी गरे ।

उनले भने, ‘नेपाली जनता अर्थात युवा सर्कलसँग जोडिएको व्यक्ति वा एक अभियन्ता भएको नाताले यतिबेला नेपाली युवायुवतीहरूको खुसी छैनन् भन्ने लाग्छ । देशको भ्रष्टाचार, बेथितिले सिमा नाघेको छ । त्यसैले आगामी दिनमा दुईवटा जाति र दुईवटा पार्टी मात्रै रहन्छ । त्यसकै आधारमा मुलुकको भविष्य निर्धारण हुन्छ ।’

उनले नेपालको आर्थिक अवस्था पनि चिन्ताजनक रहेको उल्लेख गर्दै ऋणको भार बढ्दै गएको बताए । देशलाई ऋणमुक्त बनाउन श्रम, स्वदेशी उत्पादन, स्वदेशी प्रयोग तथा प्रकृति, संस्कृति र प्रविधिको समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

‘प्रकृति भनेको हाम्रो माटो र धर्ती हो । यही माटोमा जन्मिन्छौं र यहीँ फर्किन्छौं। माटोलाई माया गर्न नसक्ने व्यक्ति साँचो अर्थमा देशप्रेमी हुन सक्दैन । किनकि देशमा अत्याचार छ त्यसैले बचाउने भनेको तपाईं हामीले नै हो । नेपाली नागरिकहरु सचेत हुन जरुरी पनि छ । खुराफाती गफ दिएर देश बन्दैन् । पढ्नु मात्रै सब चिज होइन, चेतना महत्त्वपूर्ण हो,’ उनले भने ।

उनका अनुसार संस्कृति नेपालीको पहिचान, सम्मान र अस्तित्वको आधार हो भने आधुनिक प्रविधिलाई त्यससँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

योङहाङले आफ्ना पार्टीका अध्यक्ष हर्क साम्पाङको खुलेर प्रशंसा गर्दै श्रमदान अभियानलाई सामाजिक रूपान्तरणको सकारात्मक उदाहरणका रूपमा उल्लेख गरे । राम्रो कामलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर समर्थन गर्नुपर्ने उनको धारणा थियो ।

उनले भने, ‘हर्क साम्पाङज्यूले श्रमदानमार्फत समाजमा एउटा सकारात्मक सन्देश दिनुभएको छ । त्यो कुनै एउटा पार्टीका कार्यकर्ताका लागि मात्रै होइन, सम्पूर्ण नेपालीका लागि हो । पुल बन्यो भने त्यसबाट सबै नेपाली हिँड्छन्, त्यसैले राम्रो कामलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर हेर्नुपर्छ । नेपाल आमाले ढिलो भए पनि हर्क साम्पाङजस्तो एउटा साहसी अभियन्ता जन्माएकी छिन् । उहाँ लामो समयदेखि अभियानमा लागिरहनुभएको छ र श्रमदानको संस्कृतिलाई स्थापित गर्ने प्रयास गरिरहनुभएको छ ।’

आफू पनि दुई दशकभन्दा बढी समयदेखि सामाजिक अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उनले हिलिहाङ दरबार संरक्षण तथा विकासका लागि अनुसन्धान, सरकारी बजेट व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको बताए । त्यही अनुभवका आधारमा बेथिति सुधार गर्ने उद्देश्यले राजनीतिमा सक्रिय भएको उनको भनाइ थियो ।

‘म करिब २२–२५ वर्षदेखि सामाजिक अभियानमा सक्रिय छु । हिलिहाङ दरबारबारे अनुसन्धान गरेर त्यसको संरक्षण र विकासका लागि नेपाल सरकारबाट बजेट ल्याउने काममा पनि मेरो भूमिका रह्यो । दरबार क्षेत्रलाई पर्यटनको केन्द्र बनाउने उद्देश्यले काम गरियो । तर विकासका क्रममा देखिएका बेथिति र कमजोरीहरू नजिकबाट देखेपछि सुधार गर्ने प्रभावकारी माध्यम राजनीति नै रहेछ भन्ने निष्कर्षमा पुगेँ । त्यसैले एक वर्षअघि काठमाडौं छाडेर श्रम संस्कृति पार्टीमार्फत सक्रिय राजनीतिमा लागेको हुँ,’उनले भने ।

व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लाग्नुपर्नेमा जोड दिँदै उनले नेपाललाई पर्यटन, उत्पादन र श्रममा आधारित आत्मनिर्भर राष्ट्र बनाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘व्यक्तिगत, पारिवारिक वा जातीय स्वार्थभन्दा माथि उठेर नेपाललाई बनाउने र बचाउने अभियानमा लाग्नुपर्छ । नेपाल रहे मात्रै हामी रहन्छौँ । अहिले देशलाई आत्मनिर्भर बनाउने सबैभन्दा ठूलो आधार स्वदेशी श्रम, स्वदेशी उत्पादन र स्वदेशी प्रयोग हो । यसलाई पर्यटन, प्रकृति, संस्कृति र प्रविधिसँग जोड्न सके देशको अर्थतन्त्र बलियो बन्छ र नेपाल समृद्धितर्फ अघि बढ्छ ।’

राजनीति, सामाजिक अभियान मात्र नभइ सहित्यिक सिर्जनामा गहिरो रुचि राख्ने योङहाङले साहित्यिक यात्राका बारेमा पनि आफ्नो धारणा राखे ।

साहित्य अनुभव, भावना, साधना र समयको प्रतिबिम्ब भएको उल्लेख गर्दै महलमा र झुपडीमा जन्मेको साहित्यकारको अनुभूति फरक हुने बताए । उनका अनुसार साहित्यले समाजलाई परिवर्तन गर्न, बिगार्न वा सुधार्न सक्ने शक्ति हो ।

उनले साहित्य कल्पनाको संसार भएको तर इतिहास तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताए । नेपालको इतिहास तथ्यभन्दा बाहिर गएर लेखिएका कारण धेरै भ्रम सिर्जना भएको उनको तर्क थियो ।

आफूले लेखेका गीतका शब्दहरू सतही रूपमा प्रेमका विषय जस्ता देखिए पनि त्यसभित्र समाज, मानवीय सम्बन्ध र जीवनका गहिरा अनुभूति समेटिएको उनको भनाइ थियो । साहित्यले मनोरञ्जन मात्र नभई समाजलाई सन्देश दिनुपर्नेमा उनले जोड दिए ।

आकांक्षा धामी, नेपाल न्यूज बैंक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal