
रामेछाप । ऐतिहासिक धार्मिक तीर्थस्थल दोलखाको भीमेश्वर मन्दिरमा दर्शनार्थीहरुको चाप बढेको भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुँदा अव्यवस्थाको चाङ थुप्रिएको छ ।
दोलखाको सदरमुकाम चरिकोट नजिकै ऐतिहासिक दोलखाका बजारमा रहेको भीमेश्वर मन्दिरलाई दोलखा भीमसेन भनेर पनि पुकार्ने गरिन्छ । देश भरका मात्र नभएर छिमेकी मुलुकभरबाट समेत दर्शनार्थी आउने यो ऐतिहासिक मन्दिर क्षेत्रमा दैनिक सयौँ दर्शनार्थीहरु आउने गर्दछन् । दर्शनार्थीले मन्दिरमा भेटी पनि राम्रै चढाउँछन् । तर मन्दिर व्यवस्थापनले भेटी सङ्कलन बाहेक अरू काम गरेको देखिँदैन ।
मन्दिर परिसरमा न त दर्शनार्थीका जुत्ता चप्पल राख्ने कुनै ठाउँको व्यवस्था छ, न खानेपानी, प्राथमिक स्वास्थ्य उपचार लगायतको प्रबन्ध नै छ । मन्दिर परिसरमा पर्याप्त शौचालयको समेत व्यवस्था छैन । मन्दिरको पछाडिपट्टि एउटा सार्वजनिक शौचालय छ, जो अधिकांश दर्शनार्थीहरुले देख्दा पनि देख्दैनन् ।
मन्दिर क्षेत्रमा पर्याप्त विश्रामस्थल समेत छैन । जसले गर्दा दर्शन गर्न जाने दर्शनार्थीहरु घण्टौँ उभिएर बस्नु पर्ने अवस्था छ । मन्दिरमा दर्शन गर्न मन्दिर व्यवस्थापनको तर्फबाट लाइनको समेत राम्रो प्रबन्ध भएको देखिँदैन जसले गर्दा मन्दिरमा दर्शन गर्नेको भिड र ठेलाठेलले दुर्घटनाको जोखिम समेत बढेको छ ।
दोलखाको सास्कृतिक सम्पदा पुस्तकका अनुशार दोलखामा अधिकांस घर ढुंगाले बनेको हुँदा तिब्बती भाषामा ‘दो’ – ढुंगा , ‘ल’ – मन्दिर र ‘खा’ – घर नै कालान्तरमा दोलखा भन्न थालिएको हो भन्ने भनाइ पाइन्छ । अर्को आख्यान अनुशार देशको रक्षार्थ दोलखा सहरको चारै तिर ढुंगाको पर्खालले घेरी पश्चिम तिर ढुंगाकै ठुलो ढोका राखियो , यही ढोकालाइ दोलखाली नेपालभाषामा ड्वाकुलुखा र कालान्तरमा यो ठाउको नाउनै दोलखा रहन गएको गएको हो भन्ने एकथरी भनाइ रहेको पाइन्छ । समुद्र सतह बात करिव ७ हजार १, ३४ मिटर उत्तर पुर्व गौरी शंखर हिमालको काखमा अवस्थित दोलखाको सदरमुकाम चरिकोट राजधानी काठमाडौँ बात १ सय ३२ किलोमिटर उत्तर पूर्वमा रहेको छ। किरातकालिन अस्तित्व बोकेको र मल्लकालमा हिन्दुस्थानी आख्यान इतिहासका साथै भारतको काशीबात ब्राम्हण झिकाएर वैदिक परम्परा लागु गर्न दुष्प्रयाश भएको दोलखा एतिहासिक दृष्टिकोणमा ने.स. ७५२-७६६ मा राजा जयइन्द्रसिंह देवले रानी विजय लक्ष्मी महादेविका नाउको प्रथम सिक्क छापेको स्थान पनि हो।
दोलखा भीमसेन : एक शिला तीन अवतार भित्र लुकेको आख्यान यस्तो छ
आख्यानअनुसार तिब्बती ब्यापारमा निस्किएका १२ जना धोक्रे व्यापारीहरु बीच बाटोमा बास बस्नु पर्ने अवस्था भयो। सोक्रमामा तिन वटा ढुंगामाथि भाडो राखी भात पकाय छ। तर भाडोको एक कुन्नामा भात काँचैको काँचै रहन पुग्यो। भोकले चुर भएका धोक्रे ब्यापारी र भरियाले सो ढुंगालाइ अलक्षिनि रहेको भन्दै फलामको पन्युले हिर्काए छन्। प्रहर भएपछी सो ढुगा बाट रगत र दुध एकसाथ बग्न थालिएपछि भयभित भएका धोक्रे ब्यापारीहरुले देवता मानेर क्षमा मागी गन्तव्य तिर लागेछन्। सोहि क्रममा हिड्दै जादा निधारमा भर्खरै घाउ लागेका एक वृदा योगी भेटेपछि सबै वृतान्त सुनाउदा योगिनी सो ढुगा शिला (भिंद्य:) असल देवता भएको र डराउनु पर्दैन भनि अलप भए। त्यो घटना पस्चात ति ब्यापारीहरुको व्यापार दिनदुगना रात चौगुना बदन थाले भन्ने किवदन्ती रहेको छ। यस बाट प्रभावित भएर धोक्रे ब्यपरिका वंशज विगु गाउका श्रेष्ठ नेवारहरु बाट प्रत्येक बर्ष बडादशैँमा १२ बोका , भेडा बलि दिएर क्षम पुजा गर्ने प्रचलन रहेको छ। बिशुद्द तान्त्रिक, किराती नेवार परम्परामा आधारित (भिं द्य ): असल देवता कालो त्रिभुज आकारको स्लेट सादा ढुंगा ( भिमेश्वर महादेव ) को दाहिने भाग चोइतियेको अहिले पनि देख्न सकिन्छ , जुन देवतालाई पन्चबली दिदा मन्दिर पछाडी रहेको लामो काठको लिङ्गो चुडामणिमा देवता सार्ने परम्परा छ। बिहान १० देखि २ बजे सम्म मातृशक्ति भगवती , दिउसो २ बजे पछि नास: द्य: ( नृत्य नाथ नाट्यश्वोर ) र अन्य बेला भिं द्य : असल देवताको रुपमा पुज्ने हुदा दोलखा भीमसेनलाई एक शिला तीन अवतार भन्ने प्रचलन छ।
मन्दिरको मूल धोका अगाडी दायाँ बायाँ दुइ सिंगो ढुंगाको सिंह ढुंगाकै आकृतिमा र चारै तिर कलात्मक काष्ठ – धातु ,कलायुक्त छानाविहीन अवस्थामा स्थापित छ।
फोटो – बुद्ध शरण शाही


बुद्धशरण शाही

