आज :

नृत्यकलाविद वीणा जोशी राजभण्डारी र ई. बदन लाल न्याछ्योँ जोशी रिसर्च ईन्ष्टिच्यूटबाट सम्मानित

  • अनलाइन डबली

राजेस बज्राचार्य –

ललितपुर। संस्कृति शिरोमणी हरिराम जोशीज्यूबाट स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटको आयोजनामा आइतवार सम्पन्न एक समारोहबीच कदम पुरस्कार एवं हरिराम जोशी संस्कृति पुरस्कार २०८३ वितरण गरिएको छ ।
२०२४ मै स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटका संस्थापक इतिहास शिरोमणि हरिराम जोशीज्यूको अर्धाङ्गिनी स्वर्गिय कदम बाबा जोशीको स्मरणमा स्थापित कदम पुरस्कार २०८२ बाट वीणा जोशी राजभण्डारीज्यू सम्मानित हुनुभएकी छिन । त्यस्तै हरिराम जोशी संस्कृति पुरस्कार यस पटक ई. बदनलाल न्याछ्योँलाई प्रदान गरिएको छ ।
कार्यक्रममा सम्मानित ब्यक्तित्वका प्रशंसामा आयोजक संस्थाका संस्थापक अध्यक्ष हरिराम जोशीज्युले पौराणिक कालमा मात्र नभै जेन जी आन्दोलनपछि नेपालको संकटपूर्ण अवस्थालाई चिर्न समेत महिला प्रधानमन्त्रीको उल्लेखनीय योगदान रहेको चर्चा गर्नुहुँर्दै नेपाली समाजमा महिलाको भूमिकालाई पनि बराबरी अग्रस्थानमा राख्न पदम पुरस्कारको स्थापना गरिएको स्मरण गर्नुभयो ।
राष्ट्र र समाजलाई गतिवान बनाउनेहरु नै महामानव हुने आदर्शलाई जीवन्त तुल्याउन उक्त दुई पुरस्कारको स्थापना गरिएकोमा यस पटक नेपाली परम्परागत नृत्यकलाका ज्ञाता वीणा जोशीज्यूले यस क्षेत्रमा अध्ययन अध्यापन गर्दै नेवार समुदायका परम्परागत मुकुण्डो नाच (नृत्य संस्कृति) जस्तो गहकिलो पुस्तक तयार गर्नुभएकोमा सम्मानित गर्ने निर्णय भएको बताउनु भयो ।
त्यस्तै नेपाली संस्कृति भित्र परम्परागत संगीतको महत्वलाई आत्मबोध गरेर मल्लकालीन ३६ रागको प्रस्तुतिको निरन्तरताकालागि ललितपुर महानगरलाई संगीतको शहर तथा जेष्ठ पूर्णिमा (ज्याः पुन्ही)को दिनलाई राष्ट्रिय संगीत दिवसका रुपमा पुनः स्थापित गर्न सफल ई. बदन लाल न्याछ्योँज्यूको योगदानको कदर स्वरुप हरिराम जोशी संस्कृति पुरस्कार २०८२ प्रदान गरिएको जानकारी गराउनु भयो ।
ईतिहासविद प्रा.डा. वीणा पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी त्रि.वि.का पूर्वउपकुलपति प्रा. केदार भक्त माथेमाज्यूले राज्यको दायित्वमा पर्नुपर्ने कार्य समेत गर्दै आएका जोशी रिसर्च सेन्टरको खुलेर प्रसंशा गर्नुभयो ।
“राज्यले जसरी पुननिर्माण जस्ता कार्यहरुले संस्कृतिका भौतिक पक्षलाई संरक्षण गर्ने प्रयास गरेको देखिन्छ, त्यस्तै यस विषयमा विधिवत र अनुसन्धानमूलक अध्ययन गर्नेहरुकालागि सबै तहमा छात्रवृतिका योजना स्थापित गर्न जरुरी छ” उहाँले भन्नुभयो, “ईतिहासको सोधखोज तथा यहाँको संस्कृतिको अध्ययनमा जसरी मेरी स्लसर लगायतका विद्वानहरुको अगाडी उनलाई सघाउने नेपाली संस्कृतिविदहरु ओझेलमा परे, अब त्यस परिस्थिति पनि सुधार्नु पर्छ, यसकालागि जसरी विदेशीहरु छात्रवृतिमार्फत यहाँ निर्धक्क अध्ययन गर्छन, त्यस्तै नेपालीहरुले पनि आफ्‌नै संस्कृति लगायतका क्षेत्रमा निर्धक्क लागिरहन राज्यले उत्प्रेरणा बढाउने नीति लिनु अति आवश्यक छ।”
कार्यक्रममा कदम पुरस्कार २०८२ बाट सम्मानित विणा जोशी राजभण्डारीज्युले आफू नृत्यकला क्षेत्रको भएको नाताले पुस्तक लेख्ने अभिप्रेरणाले कमसेकम आफ्‌नो नेवाः समुदायभित्रको मुकुण्डोनाचहरुबारे ४ दशक देखि अध्ययन गर्दै आएकोमा सदैव आफ्‌ना गुरुरुपी हरिराम जोशीज्यूले चाँडो पुस्तक प्रकाशनमा ल्याउन घच्घच्याइरहनु भएको स्मरण गर्नुभयो ।
“२०२३ सालदेखि नै थालेको कदम कहिले एक गृहिणी महिला, एक बुहारी, आमा हुँदै कहिले सासु त कहिले हजुरआमाको भूमिका निर्वाह गर्दै अलमलिएर पुस्तक लेखन अझै अपूरो लाग्ने अवस्था रहिरह्यो ।” उहाँले भन्नुभयो, “पुस्तक लेखनको ढिलाईका कारण हरिराम बा ले मलाई दुइ वर्षसम्म नसम्झेको अवस्था पनि आयो । अतः यसै सालको शुरुवातमा भन्दाभन्दै आगामी जेठ ३ गते पुस्तक लोकार्पण गर्ने अवस्थासम्मको हौसलाका श्रेयमध्यै उहाँ पनि प्रमुख हुनुहुन्छ । उहाँको हातबाट नै यो महत्वपूर्ण सम्मान पुरस्कार पाएकोमा थप गौरन्वान्वित हुन पाएको छु ।”
यस वर्ष संस्कृति पुरस्कारबाट सम्मानित ई. बदनलाल न्याँछ्योज्यूले आफू प्राविधीक क्षेत्रको भएतापनि अभिलेखीकरण कार्यप्रतिको लगावले संस्कृति संरक्षणमा आकर्षित भएको बताउनुभयो । उहाँ पनि स्वयं हरिराम जोशीज्यूको सामिप्यता पश्चात उनको सल्लाह सुझाव सहितले आफ्‌नो कार्यहरुमा थप सफलता हासिल भएकोे सम्झदै उहाँकै हातबाट संस्कृति पुरस्कार प्राप्त भएकोमा थप जिम्मेवारीबोध भएको बताउनुभयो ।
“पुराना भौतिक र अभौतिक दुबै सम्पदाहरुलाई सके संरक्षण गर्न हातेमालो गर्नु हामी सबैको दायित्व हो, तर नसके कमसेकम यीनलाई आफ्‌नो मौलिक स्वरुपबाट बिरुप हुन दिनुभएन ।” उनले भने, “ंमंगलबजारको तलेजु पुननिर्माण सफलतापूर्वक सम्पन्न भयो, यो गर्वको विषय हो तर त्यसमाथि कुनै एन्टेना टावरको स्थापना भने जतिसुकै तर्कसंगत कारण बाध्यता भएपनि त्यो स्वरुप बिगार्न दिनु हुन्न । हामीले युनेस्कोमा अमूर्त सम्पदाहरुलाई स्थापित गर्ने प्रयाससँगै संस्कृति सम्पदा सम्बन्धित अन्तर्राष्ट्रिय मान्यतालाई कुल्चिुनु हुन्न । बरु सम्पदा निर्माणका कार्यमा राष्ट्रिय सम्पदा नीति २०६७मा देखिएका राज्यको दायित्वप्रतिको कमीकमजोरी सच्याउन अझ सशक्त भएर लाग्नुपर्ने देखिन्छ ।”
उक्त कार्यक्रमका अतिथि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले नेपालको अमूर्त सम्पदाको सूचीकरण कार्यमा यःमरीको विशेषता सफलतापूर्वक स्थापित गरिएको, ललितपुरलाई क्रियटिभ सिटी अफ म्यूजिकका रुपमा दर्ता भइ मान्यता प्राप्तिको कार्य भैरहेको उपलब्धिबारे चर्चा गर्नुभयो । उहाँले सबै भन्दा लामो दिनका रुपमा रहेको ज्याः पुन्हीको दिनलाई कमसेकम राष्ट्रिय संगीत दिवसका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संस्कृतिविद प्रकाश दर्नालज्यूले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा जोशी रिसर्च सेन्टर तथा आयोजक परिवारका तर्फबाट शुवरत जोशीज्यूले आफ्‌नो हजुरबुबाको सत्कर्महरुको चिनारीबोधका रुपमा स्थापित दुबै पुरस्कारहरुको चीरकाल सम्म निरन्तरताकालागि प्रतिवद्धता सहित धन्यबाद ग्यापन गर्नुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal