
बिस्का जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।
यस्तो छ आख्यान –
बोडेको जिब्रो छेड्ने र थिमीको तेत्तीस कोटि खटयात्रा मध्यपुर थिमीको बोडेस्थित शंखकोटमा दिनमा जङ्गली र रातभर भूतप्रेतले दुःख दिन थालेपछि सम्पूर्ण देशवासी खेतको बीचमा बस्ती विस्तार गरी बुँदे अर्थात् खेतको बीचमा बस्ती बसाएछन् । खेतको बीचमा बस्ती राख्दा पनि भूतप्रेत र ख्याकले दुःख दिने र बालबालिका खाइदिन नछाडेपछि पीडित देवपत्तनस्थित तान्त्रिक बन्धुदत्त कर्माचायका छोरा भीमदत्तसमक्ष समस्याको समाधनार्थ आग्रह गर्न पुगेछन् ।
भीमदत्तले बस्तीको चारैतिर तारण छोडी एक महिनासम्म कसैलाई खेत नजान जब उर्दी जारी गरे तब मनोहरा नदीको किनारैकिनार बोडे पसेका पिशाच तरणमा फसेछन् । लामो जिग्रिङ्ग परेको सुइरोजस्तो कपाल , रातो , लामो , मोटो जिब्रो , ठूला – ठूला डरलाग्दा आँखा भएका पिशाचलाई पक्रिएर केरकार गर्दा नीलवाराही देवताको दाहिने ख्याक भएको पनि बताएछन् ।
तान्त्रिक भीमदत्तले तारण बाँधिएकै अवस्थामा ख्याकको कपाल काटी जबर्जस्ती जिब्रोमा सियो घोचेर सजायँ दिनुका साथै भागेर जाला भनी घुड्गुरु बाँधी काँधमा महाद्वीप बोकाई देश परिक्रमा गराएछन् । खुट्टामा बेइज्जत र वेदना खप्न नसकी ख्याकले अबउप्रान्त कसैलाई दुःख नदिने , बरु प्रत्येक वर्ष जिब्रो छेड्न आउने , बोडेवासीलाई रोग , अनिकाल , अनावृष्टि र महाभूकम्पजस्ता प्राकृतिक प्रकोपबाट बचाउनुका साथै एकछाक खान कहिल्यै दुःख नहुने स्थितिको सिर्जना गरिदिने बाचा गरेछन् । बाचा गराई छोडेका भीमदत्त ( भिन्दुवा श्रेष्ठ ) लाई नीलवाराही अजिमाले सपनामा रिसाउँदै भनिछन् तिमीले मेरो दाहिने ख्याकप्रति अपमान गन्यौ , म तिमीलाई छाड्नेछैन । सपनाको प्रकोप नपरोस् भनी भीमदत्त ( भिन्दुवा श्रेष्ठ ) का वंशजले जिब्रो छेड्ने र नीलवाराहीमा क्षमापूजा गरी प्रत्येक वर्ष महालक्ष्मीदेवीमा महापूजा चढाउने प्रचलन कायमै छ ।
बोडेको भूतप्रेतले थिमी पनि अछुतो रहन सकेन । दैत्यहरूले छोरीचेलीसमेत बेपत्ता पार्न थालेपछि बालकुमारी अजिमाको प्रार्थना गर्दा जिब्रो छेड्ने जात्राकै दिन सम्पूर्ण अष्टमातृका गण जगाउन निर्देशन भएअनुरूप पाँचौ गणेश , महालक्ष्मी हाँसिमिला खिप्वा खा न्दुम्ह व्यापारी पुलाम्ह वाराही कालिका , नगदेश सिद्ध गणेश , विमी विष्णुदेवीलगायत ३२ खटको विशाल सिन्दुरे जात्रा हुने गर्दछ ।



बुद्धशरण शाही

