आज :

हुम्लाको विकासका लागि डा. दीपेन्द्र रोकायाको सरकार समक्ष ६४ बुँदे प्रस्ताव

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन हुम्लाका उपविजेता डा. दीपेन्द्र रोकायाले नेपाल सरकारलाई ६४ बुँदे ज्ञापन पत्र बुझाउँदै हुम्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न आग्रह गरेका छन्।

उनले हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तर उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उल्लेख गरेका छन्। “अब सामाजिक न्यायको आधारमा सबभन्दा पछाडि पारिएको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” भन्ने उनको स्पष्ट आग्रह छ। उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा हुम्लाको ठोस र परिणाममुखी सम्बोधन हुनुपर्ने जोड दिदै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा आफ्नो पत्र बुझाएका हुन्।

उनको प्रस्तावमा कर्णाली करिडोरका पिलु-तुम्च, तुम्च-छार्या, छार्या-सिमकोट, सिमकोट-हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार, र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्याउनु पर्नेमा जोड दिइएको छ।

हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुख्खा बन्दरगाह निर्माणजस्ता रणनीतिक पहल मार्फत हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने दृष्टि प्रस्तुत गरिएको छ। डा. रोकायाको योजना केवल पूर्वाधारमा सीमित छैन। उनले बालबालिकालाई गुणस्तरीय शिक्षा, युवालाई सीप र रोजगारी, तथा ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा सुनिश्चित गर्ने सामाजिक दृष्टिकोण अघि सारेका छन्।

नियमित निःशुल्क स्वास्थ्य सेवा, छात्रवृत्ति कार्यक्रम, र लोकसेवा तयारी कक्षामार्फत हुम्लाका युवालाई राज्य संरचनामा पहुँच दिलाउने लक्ष्य पनि स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। हुम्ला कर्नाली-१ र २ जस्ता ठूला जलविद्युत आयोजनामा सहजीकरण, साना आयोजना राष्ट्रिय ग्रिडमा जोड्ने, तथा सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव अघि सारिएको छ।

कृषि र जडीबुटी उत्पादनलाई व्यावसायिक बनाउँदै हुम्लालार्इ फलफूल बगैंचाको जिल्ला बनाउने लक्ष्यसहित १२ हजार बगैंचा निर्माण गर्ने महत्वाकांक्षी योजना पनि उनको एजेन्डामा समेटिएको छ। कैलाश-मानसरोवर दृश्यावलोकन केन्द्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायांकन स्थल विकास मार्फत हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने दीर्घदृष्टि रोकायाले अघि सारेका छन्।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, ऊर्जा, कृषि, पर्यटन र सामाजिक सुरक्षासहित ६४ बुँदे योजनाले हुम्लालाई आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ, जुन निर्वाचनका बेलाको घोषणामा होइन, कार्यान्वयनमा जोडिएको योजना भएको उनको दाबी छ।

निर्वाचन परिणामप्रति संकेत गर्दै डा. रोकायाले राजनीतिक तथा भू-राजनीतिक कारणले आफू पराजित भए पनि जनतासँग गरेको प्रतिबद्धताबाट आफु पछि नहट्ने बताएका छन्। यस्तै उनले आफ्नो पार्टीका केन्दीय संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरी हुम्लाका माग कार्यान्वयनका लागि पहल गरि दिन अनुरोध गरेको बताएका छन्। निर्वाचनमा प्राविधिक रुपमा पराजित भएपनि तुरुन्तै मतदाताहरुलार्इ धन्यवाद दिन सबै पालिका केन्द्रमा गएको र हुम्लाको विकासका लागि संघीय सरकारसँग नीतिगत पहल गरिरहेको बताएका छन्।
०००
के छन् ६४ मागहरु :
१. कर्नाली करिडोरको हुम्ला खण्ड पिलु-तुम्च, तुम्च-छार्या, छार्या-सिमकोट र सिमकोट-हिल्सा खण्डको स्तरोन्नति गरियोस्।
२. एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइन सबै गाउँमा विस्तार गरियोस्।
३. सञ्चार क्षेत्रको दिगो विकासका लागि सबै पालिका केन्द्र हुँदै उतरी सीमा बजार हिल्सासम्म अप्टिकल फाइबर विस्तार गरियोस्।
४. हुम्ला लगायत हिमाली जिल्लाहरुको समग्र विकास गर्न हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना गरियोस्।
५. हिल्सामा क्वारेन्टाइन र यारीमा सुख्खा बन्दरगाह स्थापना गरियोस्।
६. बालबालिकालार्इ स्वास्थ्य र शिक्षा, युवालार्इ सीप र रोजगारी, तथा ज्येष्ठ नागरिकलार्इ सम्मान र सुरक्षा सुनिश्चित गरियोस्।
७. हुम्लाका पुरुषलार्इ वर्षको एक पटक र महिलालार्इ दुर्इ पटक अनिवार्य नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरियोस्।
८. कर्नाली प्रदेशका रुपान्तरणकारी आयोजना, र हुम्ला जिल्ला महत्वका आयोजनालाई प्राथमिकता दिइयोस्।
९. हुम्लाको विकासका लागि विशेष विषय विशेषज्ञ परामर्श कार्यशाला अभियान सञ्चालन गरियोस्।
१०. निजी क्षेत्र आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गरियोस्।
११. हुम्ला कर्नाली-१ कास्काड जलविद्युत आयोजना ६८१.२ मेगावाट र हुम्ला कर्नाली-२ कास्काड जलविद्युत आयोजना ३३५ मेगावाट उत्पादन गर्न सहजीकरण गरियोस्।
१२. कृषि, जडिबुटी, पर्यटन, ऊर्जा आदि क्षेत्रको सम्भाव्यता अध्ययन गरी आयोजना बैंक तर्जुमा गर्न सहजीकरण गरियोस्।
१३ दक्ष प्राविधिक जनशक्ति विकासका लागि छात्रवृत्ति र सबै सरकारी कार्यालयमा हुम्लाका युवाहरुको पहुँच स्थापित गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गरियोस्।
१४. लिमी-चंखेली-रारा-जुम्ला-डोल्पा-मुस्ताङ सडकलाई हिमाली पर्या-पर्यटकीय सडकका रूपमा विकास गरियोस्।
१५. कुवाडी-ताँजाकोट-अदानचुली-सर्केगाड सडक, सर्केगाड-रादेउ-सिमाली सडक, चंखेली-ह्याप्स्या-पंखा सडक, खार्पुनाथ-चुवाखोला सडक, सिमकोट-बरगाउ-ठेहे-दोजाम सडक, लाङ्दु-लिमाटाङ-त्वाग्रा सडक, सल्ली-लिमी लाप्चा सडक, सिमकोट-स्याप्न्या सडक, गल्वा-पाल्स सडकको स्तरोन्नति गरियोस्।
१६. सर्केगाड-मारघोर-खार्पुनाथ सडक, लेक गाउँदेखि माझा-छिप्रा-कारंग-राया-थाली सडक, खच्चा-जैर-न्हाता सडक, गुसा-उनापानी-रिप-वीउबारा सडक, सर्केगाड-साँया-बराइ-छ्यागी-घिउसी सडक, गोप्का- सिमाली सडक, पिप्लाङ-पाली-राँती-मेल्छाम सडक, चरिगाउँ-ह्याप्स्या-भुवा कल्लाँस सडक, पिप्लाङ-मेखाल सडक, र गालबक्सदेखि टल्की गुम्बा सडकको ट्रयाक खोल्ने कार्यलार्इ सहजीकरण गरियोस्।
१७. रणनैतिक महत्वका पर्यटकीय क्षेत्र चंखेलीदेखि नेप्का सडक र तुम्कोटदेखि लिमी सडकको ट्रयाक खोलियोस्।
१८. याङ्गु-स्याँडा-खोल्सी-खगालगाँउ सडक, सिमकोट लाग्ना-फया सडक, झाँपुकुना-फुचा, मकै-थाना-विगोठी- लमई-पाल्स- बारिगाउ- काँख्या सडक, तुम्च बाहुनबाडा छत्यालबाडा सडक लगायतका सडकको विस्तार गरियोस्।
१९. कर्नाली नदी तथा विभिन्न खोलामा आवश्यक सर्केगाड, मुन्डी, घिउसी, खरिखेत, थाहा, नल्ला, डोसा, ताग्रु, राउला चौर, राउत्यावारा, पंखा खोला, लोती, गाडलाग्ना, सल्ली, टाक्ची, कालागाड, र नैकला खोलामा सडक पुलको निर्माण गरियोस्।
२०. भविश्यलार्इ ध्यानमा राखेर सुरुङ मार्ग, केवलकार, रोप वे आदिको सम्भाव्यता अध्ययन गरियोस्।
२१. साना जलविद्युत आयोजनाको विद्युतलार्इ राष्ट्रिय ग्रीडमा जोडियोस्।
२२. तुम्कोट जलविद्युत आयोजना ६१ मेगावाट, कुवाडी जलविद्युत आयोजना-३० मेगावाट, लोती ४९.५ मेगावाट, तल्छरी ९ मेगावाट जलविद्युत उत्पादनका लागि निजी क्षेत्रलार्इ आकर्षित गरि रोजगारी र आर्थिक विकासको मार्ग प्रशस्त गरियोस्।
२३. जिल्ला सदरमुकाम सिमकोटलार्इ सौर्य ऊर्जाको व्यवस्थापन गरी लोडसेडिङ मुक्त बनाइयोस्।
२४. साना जलविद्युत आयोजना दिगो रूपमा सञ्चालन गर्ने व्यवस्था गरियोस्।
२५. सिमकोटलाई आर्थिक केन्द्र र अरु पालिका केन्द्रलाई साना शहरका रूपमा विकास गरियोस्।
२६. जोखिमयुक्त बस्तीहरुलाई सुरक्षित एकीकृत बस्तीमा रूपान्तरण गरियोस्।
२७. नाम्खा गाउँपालिकामा एकै समुदायको बसोबास रहेको क्षेत्र भएकाले संरक्षित विशेष क्षेत्र घोषणा गरियोस्।
२८. उतरी सीमा क्षेत्रको हिल्सा बजार व्यवस्थापन तथा पहिरो नियन्त्रण गरियोस्।
२९. सबै घरमा आरम गर्ने खाट, उक्लने लिस्नु र सरसफार्इका लागि चर्पी सुधार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरियोस्।
३०. हुम्लामा नगरपालिका स्थापनाका लागि पहल गरियोस्।
३१. प्रशासकीय र व्यवहारिक कार्य सम्पादनका लागि केही वडा र मतदान केन्द्र छुट्याइयोस्।
३२. सिमकोट रानीवनस्थित ऐतिहासिक जालन्धर र मल्ल राज्यको दरवार, मातृसत्ता शुरुवात गराउने लिमीको टाक्ची दरवार, रामा गाउँको तीन तले भूमिगत दरवार, धार्मिक रुपमा खार्पुनाथ मन्दिर, चन्दनाथ र भैरवनाथको जन्मगाउँ नल्ला, लोक धर्म स्थापित गर्ने महादेउ, हिल्सा, ल्वासुर, रामपाल, बाडपाल, गुरा, सात सर्की, मदानो, कैलाश, गवाला तथा बाह्र भार्इ मइठाका मारु तथा बौद्ध गुम्बाहरु, गल्वा दराको रार्इ ढुङ्गो, देवान ढुङ्गो तथा रादेउको थुमले किराती सभ्यता पहिचान सम्पदाको अध्ययन गरियोस्।
३३. लिमीको लाप्चा र न्यालु लाग्नामा कैलाश मानसरोवर दृश्यावलोकन स्टेशन निर्माण गरि पर्यटकीय गन्तव्य निर्माण गरियोस्।
३४. ह्याप्स्या शहीद पार्कलाई पर्यटकीय स्थलका रूपमा विकास गरियोस्।
३५. कवाडीबाट रानीसैन, चाला, सैपाल, मुचु पुग्ने नयाँ पर्यटन पदमार्ग खोलियोस्।
३६. बौद्ध धर्मालम्बीको विश्वविद्यालयको रुपमा विकसित याल्बाङ, हल्जी, तुम्कोट, मुचु लगायत सबै गाउँका गुम्बा संरक्षण गरी धार्मिक पर्यटनको विकास गरियोस्।
३७. खौला, अदानचुली, नौमुली, मुन्या लेक, चंखेली, तल्छरी छहरा, न्यारी, भीउदूला, दुध्यादह, चुवाखोला, रल्लिङ तीर्थ, पञ्चमुखी हिमाल, च्याङ्ला भञ्ज्याङ, चंखेली लेक, मारगोर लाग्ना, नारा लाग्ना, गोरख हिमाल, रानीसैनको पाटन, च्वाखोला पाटन, सात पटक घाम लाग्ने नेप्का गाउँ लगायत पर्यटकीय क्षेत्रहरूलाई चलचित्र छायांकन स्थलका रूपमा विकास गरियोस्।
३८. कस्तुरी संरक्षण क्षेत्र र कस्तुरी तथा नावर पदमार्ग विकास गरियोस्।
३९. उनापानी, सल्लीसल्ला र केर्मीको तातोपानीको व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाइयोस्।
४०. अर्गानिक उत्पादन बढाउन तुम्चजस्तै दार्म जिउला, रोडिकोटको शेरा लगायत पाखा क्षेत्रमा उत्पादन बढाउन लिफ्ट तथा स्प्रिङ सिँचाइ विकास गरियोस्।
४१. जिमाना काँडाको बेलखारा, जैर, बराइ, गोठी, मेल्छाम, खर्प्यालगाउँ, ठेहे लगायतका क्षेत्रको उत्पादन बढाउन लिफ्ट तथा स्प्रीङ सिँचाइका लागि सम्भाव्यता अध्ययन गरियोस्।
४२. गल्बा दराको उत्पादन बढाउन नाम्ल्यादेखि श्रीनगर कल्खियासम्म सिँचाइको व्यवस्था गरियोस्।
४३. हुम्लालाई फलफूल बगैंचाको जिल्ला बनाउने गरी १२,००० वगैचा निर्माण कार्ययोजना अगाडि बढाउन लगाइइोस्।
४४. सबै पालिका केन्द्रमा शीतगृह स्थापना गरियोस्।
४५. रिमीमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालन र अनुसन्धान गरियोस्।
४६. हिमाली स्प्रिङ वाटर उद्योग स्थापना र सञ्चालन गर्ने वातावरण निर्माण गरियोस्।
४७. पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय हुम्लामा स्थापना गरियोस्।
४८. सबै माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा डिजिटल रुपमा विकास गरियोस्।
४९. कोट मावि रोडिकोटलाई सिमाली आवासीय विद्यालयको रुपमा विकास र सञ्चालन गरियोस्।
५०. स्थानीय पाठ्यक्रम विकास गर्न पाठ्यक्रम विकास केन्द्रबाट विज्ञ सेवा उपलब्ध गरियोस्।
५१. मानसरोवर बहुमुखी क्याम्पस सिमकोट, हिमज्योति बहुमुखी क्याम्पस सर्केगाड र गल्बा बहुमुखी क्याम्पस श्रीनगरलार्इ विभिन्न विश्वविद्यालयबाट आंगिक रुपमा सम्वोधन गरियोस्।
५२. जिल्ला अस्पतालको स्तरोन्नति र सबै पालिकामा आधारभूत अस्पताल स्थापना र सञ्चालन गरियोस्।
५३. सिमकोट, लेकधिगा, सर्केगाड र मदना खौलामा हाइअल्टिच्युट खेलकुदको पूर्वाधार विकास गरियोस्।
५४. पशुपालन र अर्गानिक उत्पादन प्रोत्साहन गर्न स्थानीय उत्पादनलार्इ ब्रान्डिङ गरी बजारीकरण गर्न सबै पालिकामा खाद्य बैंक स्थापना गरियोस्।
५५. हिमाली क्षेत्रका जाड थपाल्या व्यासी समुदायलार्इ आदिवासी जनजातिमा सूचीकृत गरियोस्।
५६. स्थानीय चाडपर्व र संस्कृतिलाई ब्रान्डिङ गरि जिवित संग्रहालयको रुपमा संरक्षण गरियोस्।
५७. कपास, भाँगो, अल्लो तथा ऊनीजन्य कपडा प्रवर्द्धन कार्यक्रम, सबै गाउँमा कुटानी पिसानी र पशुपालनका लागि चरन तथा खर्क सुधार कार्यक्रम लागु गरि उद्यम विकासमा प्रेरित गरियोस्।
५८. राष्ट्रसेवक कर्मचारीका लागि सकारात्मक कार्य वातावरण बनाइयोस्।
५९. सुशासन, सामाजिक न्याय र समृद्धिका लागि निरन्तर पहल गरियोस्।
६०. प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन गरियोस्।
६१. हरेक क्षेत्रमा हुम्लाको प्रतिनिधित्व र विकासको आवाज उठोस्।
६२. नेपालको संविधान, २०७२ संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गरियोस्।
६३. शासकीय स्वरूप र निर्वाचन प्रणालीमा व्यापक सुधार गरियोस्।
६४. संघ, प्रदेश र स्थानीय तहबीच सह-अस्तित्व, समन्वय र सहकार्य सुदृढ गरियोस्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal