
काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रतिवेदन लागू गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘मानव ओसारपसार वा बेचबिखन गर्नु अपराध हो । त्यसैले यस किसिमको अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हामीले भन्ने सरकारलाई नै हो । सिफारिस गरेका कुराहरुको कार्यान्वयन सरकारले नै गर्ने हो । सरकाले जसरी पनि कार्यान्वयन गर्नैपर्छ ।’
त्यस्तै उनले मानव तस्करमा लागेकाहरुको तरिकाहरु पनि फरक हुँदै गएको बताउँदै विशेषगरी विपन्नता वर्गका मानिस आर्थिक प्रलोभनमा पर्ने गरेको धारणा राखे । सो कारणले विपन्नता वर्गलाई कसरी आर्थिक रुपमा सवल बनाउने सरकारको ध्यान त्यतातिर जान आवश्यक रहेको बताए ।
‘मानव तस्करमा लागेकाहको तरिकाहरु पनि फरक भइरहेको छ । प्रलोभन देखाउने ,फकाउने जस्तो भइरहेको छ । विपन्नता वर्गका भएर पनि आर्थिक प्रलोभनमा परेको देखिन्छ । त्यसैले आर्थिक रुपमा सरकारले कसरी सवल बनाउने त्यतातिर पनि ध्यान दिनुपर्छ ।’
अध्यक्ष मगरले ७७ जिल्ला मध्य ७० जिल्ला मानव बेचबिखनबाट पीडित रहेको जानकारी दिए । उनका अनुसार ३५१ जना प्रत्येक वर्ष मानव बेचबिखनमा परिरहेका छन् ।



अनलाइन डबली

