
काठमाडौं । सौर्यमासका आधारमा मनाइने देशको एकमात्र भक्तपुरमा मनाइने बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाईँदैछ ।
नाग र नागिनीको प्रतिकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् । बिस्का जात्रा भक्तपुरको माख्योमा चैत्र मसान्तका दिन नागपताकासहितको लिङ्गो उठाई र वैशाख १ गते (खाइसल्हु) का दिन लिङ्गो ढाली मनाइँदै छ ।
यस्तो छ आख्यान –
आख्यानुसार प्राचीनकालमा भक्तपुरकी रानीसँग जसले विवाह गरी रात बिताउँथे, उसको मृत्यु हुन्थ्यो । भाइभारदारले रानीलाई पुनः अर्को विवाह गराई राजा घोषणा गर्थे तर रात बिताएकै दिन राजाको मृत्यु हुन थालेपछि ठूलो हल्लीखल्ली मच्चिन थालेपछि देशमा राजा हुन चाहने व्यक्ति नै पाउन छोड्यो । एक दिन राजा बन्ने मान्छेको खोजी गर्दै जाँदा एक जना दाउरे फेला पर्यो तर दाउरेको मनमा एउटा प्रश्न उब्जियो – यात्रो ठूलो देशकी रानीसँग विवाहको प्रस्ताव किन आइरहेको छ ? तर दाउरेको रानीसँग विवाह हुन्छ । सुहागरातमा दाउरे राजा जब सोचमग्न भई बसिरहेका हुन्छन्, रानीको नाकबाट सानो सर्प निस्किएर ठूलो अजिङ्गरको रूप लिदै गएछ । आश्चर्यचकित राजाले सर्पलाई तीन टुक्रा हुने गरी काटिदिएछन् । यही खुसीयालीमा नाग-नागिनीको लास ३२ हाते लिङ्गोमा उठाएर वि (नाग) र सिका (मारिए) पछि नै कालान्तरमा बिस्का जात्राका रूपमा मनाउन थालिएको जनाबिस्वास रहदी आएको छ ।


बुद्धशरण शाही

