
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार (हिजो) साँझ करिब ४ः५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा–८ का २० वर्षीय रबी साह रहेका छन्। उनीहरू दुई जनालाई ट्रायल सेन्टरबाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए ।
त्यस्तै, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा–६ का ४० वर्षीय प्रमोद कुमार यादव, मलंगवा–१ का ५८ वर्षीय नन्द किशोर यादव, ब्रह्मपुरी–७ का ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर–१ का ४५ वर्षीय रामबिनय राय, कबिलासी–१ का ३२ वर्षीय रञ्जन कुमार ठाकुर, चक्रघट्टा–२ का ४० वर्षीय प्रमोद साह र ईश्वरपुर–५ का ४१ वर्षीय योगेन्द्र महतो पक्राउ परेका छन् ।
उनीहरूलाई प्रहरीको टोलीले सेवाग्राहीसँग अतिरिक्त रकम माग्दै काममा अवरोध पु¥याइरहेको अवस्थामा पक्राउ गरेको बताईएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ ।


अनलाइन डबली

