आज :

जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्यमा विशेष ध्यान

  • अनलाइन डबली

मुगु । जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले २०८२ चैत १० गते मंगलबार स्वास्थ्य जाँच गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय तथा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले ६२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको हो । परीक्षणका क्रममा सामान्य शारीरिक जाँचसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान गरिएको थियो ।
कारागार जस्तो सीमित वातावरणमा लामो समय बस्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन र अनिद्रा लगायतका मानसिक स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यक परामर्श समेत प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए । उनका अनुसार मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायबारे परामर्श गरिएको छ ।
परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।
कारागारमा रहेका ७६ जना कैदीबन्दीमध्ये ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। तीमध्ये २१ जनालाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको, ९ जनालाई क्षयरोग परीक्षणका लागि सिफारिस गरिएको र १० जनामा उच्च रक्तचाप देखिएको छ । कार्यालय प्रमुख शर्माका अनुसार कारागारभित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ ।
विश्व क्षयरोग दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा कैदीबन्दीहरूलाई फलफूल समेत वितरण गरिएको थियो । साथै, गएको पुस महिनामा पनि यस्तै स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal