
काठमाडौं । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी भोकमरी अभूतपूर्व स्तरमा पुग्ने खतरा बढाएको भन्दै डब्लुएफपीले गम्भीर चिन्ता व्यक्त गरेको हो ।
डब्लुएफपीका अनुसार चरम द्वन्द्व र विभिन्न स्थानमा देखिएको अनिकालको संयुक्त प्रभावका कारण हाल विश्वभर करिब ३२ करोड मानिस तीव्र खाद्य असुरक्षाको अवस्थामा छन् । यस्तो अवस्थामा मध्यपूर्वको युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको र यसले खाद्य तथा इन्धन मूल्यमा ठूलो असर पारिरहेको चेतावनी दिइएको छ ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले युद्ध लम्बिएर जुनसम्म पुग्ने र तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रहने हो भने थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने बताए । उनका अनुसार यस संकटको सबैभन्दा ठूलो असर पहिले नै कमजोर अवस्थामा रहेका जनसंख्यामा पर्नेछ ।
“जीवनयापन खर्चमा आएको नयाँ वृद्धिलाई उनीहरूले धान्न सक्ने अवस्था छैन,” स्काउले भने । यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि चर्किएको हो । त्यसपछि इरानले प्रतिकार गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमा आक्रमण गरेको थियो भने इरान समर्थित हिज्बुल्लाहको संलग्नतासँगै लेबनान पनि द्वन्द्वमा तानिएको छ ।
हाल डब्लुएफपीले लेबनानमा हजारौँ मानिसलाई तातो खाना र रोटी वितरण गरिरहेको छ । आगामी तीन महिनासम्म राहत कार्य सञ्चालन गर्न संस्थाले तत्काल ७७ मिलियन अमेरिकी डलर थप सहयोगको अपिल गरेको छ ।
डब्लुएफपीका अनुसार हालको युद्ध सुरु हुनु अघि नै विश्व खाद्य संकट गम्भीर अवस्थामा थियो । पछिल्लो पाँच वर्षमा तीव्र खाद्य असुरक्षा तीन गुणाले बढेको र गत वर्ष अन्तर्राष्ट्रिय सहयोगमा ४० प्रतिशत कटौती हुँदा राहत कार्यमा ठूलो चुनौती थपिएको स्काउले बताए ।
युद्धका कारण इन्धन मूल्य वृद्धि, ढुवानी लागत बढ्नु र आपूर्ति श्रृंखला लम्बिनुले राहत कार्य झन् महँगो बनेको छ । ढुवानी खर्च १८ प्रतिशतले बढेको र सवारी साधनहरू महँगो इन्धनमा निर्भर हुनुपरेको अवस्था छ ।
यस संकटले युद्ध क्षेत्रभन्दा टाढाका देशहरूमा पनि कृषि उत्पादनमा असर पार्ने खतरा बढेको छ । विशेषगरी हर्मुज जलमार्ग हुँदै रासायनिक मल निर्यातमा अवरोध हुँदा सोमालिया र केन्याजस्ता अफ्रिकी देशहरूमा रोपाइँ सिजन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ । सोमालियामा त अवस्था झन् गम्भीर बन्दै गएको छ । लगातार दुई पटकको खडेरीका कारण त्यहाँ अनिकालको संकेत देखिएको छ । पर्याप्त बजेट अभावका कारण डब्लुएफपीले त्यहाँ ७ लाख मानिसलाई सहयोग गर्न नसकेको जनाएको छ ।
यस्तै, सुडानमा अनिकालको अवस्थामा रहेका नागरिकका लागि खाद्य सहायता कटौती गरिएको छ भने अफगानिस्तानमा तीव्र कुपोषणका शिकार बालबालिकामध्ये चार जनामध्ये एक जनालाई मात्रै सहयोग गर्न सकिएको छ । “सहयोग अभावकै कारण अफगानिस्तानमा मानिसहरूको मृत्यु भइरहेको छ,” स्काउले चेतावनी दिँदै विश्व समुदायसँग थप मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।


अनलाइन डबली

