
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दी क्षेत्रमा बिहीबार दिउँसो आगलागी भएको छ ।
उक्त आगलागीबाट ६ वर्षदेखि थन्किएको करिब ८ हजार क्युफिट सालको गोलिया काठ जलेर नष्ट हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
विगत २०७६ सालमा ४ सय केभी विद्युत प्रसारण लाइन विस्तारका क्रममा काटिएका ती सालका गोलियाहरू वन क्षेत्रमै घाटगद्दी गरेर राखिएका थिए। उपभोक्ताहरूको माग र आवश्यकता हुँदाहुँदै पनि समूहको आन्तरिक विवाद र प्रक्रियागत ढिलाइले काठ अलपत्र अवस्थामा थियो।
जुडिबेला सब–डिभिजन वन कार्यालयका अधिकृत बालकिशोर सिंहका अनुसार, समूहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र समूहले लामो समयदेखि लेखापरीक्षण तथा साधारण सभा नगरेका कारण काठ बिक्री प्रक्रिया अघि बढ्न सकेको थिएन। समयमै बिक्री नहुनु र डिभिजन वन कार्यालय तथा उपभोक्ता समूहबाट प्रभावकारी गस्ती नहुनु नै यति ठूलो क्षतिको मुख्य कारण मानिएको छ।
प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले गर्मी र सुख्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिएको बताए। आगलागी भएको जानकारी ढिलो गरी प्राप्त भएकाले पनि क्षति बढी भएको उनको भनाइ छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


अनलाइन डबली


