——————-
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको बताएकी छन् ।
मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहमा उनले सरकारले यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको बताइन् ।
उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।
यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको छ । जस अन्तरगत सिनियर डिभिजनतर्फ १ हजार ८० जना र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना क्याडेट छात्र÷छात्राहरु यस वर्ष दीक्षित हुन लागेको जानकारी पाउँदा मलाई थप हर्षित बनाएको छ ।’
यस्तै, उनले हालसम्म करिब ९० हजार युवाहरु एनसीसी तालिम प्राप्त गरी दीक्षित भएको भन्दै यसका लागि नेपाली सेना एवम् राष्ट्रिय सेवा दल परिवारलाई धन्यवाद दिएका छन् ।
आगामी वर्षहरुमा संख्या थप गरी यसलाई अझै विस्तार गर्नको लागि आवश्यक पहल गरिने जानकारी गराउँदै उनले युवा पुस्ताको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कटिबद्ध रहने बताइन् ।
साथै, उनले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेनाका विभिन्न फर्मेसन तथा युनिटहरु, स्थानीय सरकारहरू, विभिन्न विद्यालय तथा शिक्षण संस्थाहरु, प्रधानाध्यापकज्यूहरु, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकवर्ग, विशेषतः किशोर–किशोरीलाई राष्ट्र र समाजप्रतिको जिम्मेवारी बोधका साथ यस तालिममा स्वःस्फूर्त रुपमा सहभागी गराउने सम्पूर्णलाई धन्यवाद दिएकी छिन् ।


अनलाइन डबली


