
काठमाडौं । समावेसी समाजवाद पार्टीले देशभर यौनिक तथा लैङ्गिक अल्पसंख्यक सहित पाछाडी परिएका समुदायबाट उम्मेदवारहरु घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले अधिकार सुनिश्चितताको लागि सबै राजनीतिक दलहरुलाई आफ्ना उम्मेदवारहरुलाई साथ दिन आग्रहसमेत गरेको छ ।
पार्टीका संरक्षक सुनिल बाबु पन्तले देशभरका सम्पूर्ण पहिचान खुलाएका तथा नखुलाएका लाखौं यौनिक तथा लैङ्गिक अल्पसंख्य नागरिहरुले समानुपातिकमा भोट हाल्दा समावेशी समाजवादी पार्टीको चुनाव चिन्ह‘श्रीवत्स’मा भोट दिन आग्रह गरे ।
पहिलो संविधान सभा सदस्य समेत रहेका पन्तले लामो संघर्षपछि आफूहरु पार्टी खोलेर चुनाव लड्ने अवस्थामा पुगेको बताउँदै भने,‘यो चुनावको समानुपातिक मत परिणामले हाम्रो अनौपचारिक जनगणना हुने र त्यसले हाम्रो राजनीतिक उपस्थितिलाई थप बलियो बनाउने छ ।’
पार्टी अध्यक्ष नुमा लिम्बु ‘चन्चला’ले आफू मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन लड्ने बताईन् । उनले आफूहरुका प्रतिस्पर्धी अरु कोही नभएकाले सबै पार्टीहरुलाई सहयोग गर्न अनुरोध गरिन् । एमाले, काँग्रेस, नेकपा, रास्वपालगायतले आफूहरुको उम्मेदवारीलाई समर्थन गर्न अपिल गरिन् ।
रुपन्देही २ बाट उम्मेदवार दिएका देवेन्द्र बहादुर खत्रीले आफूहरुको संघर्षबाट स्वतन्त्ररुपले समाजमा हिंड्ने अवस्था भए पनि पूर्ण अधिकारका लागि यो चुनावमा भाग लिएको बताए ।
नेपालमा पहिलो समलिङ्गी विवाह कानुनीरुपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी परम्परागत तथा पितृसत्तात्मक सोच र व्यवहारविरुद्ध भएको बताए । पाण्डेले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारी दिएको र सबै दलहरुलाई सघाउन अपिल गरे ।
काभ्रे क्षेत्र नम्बर १ को प्रत्क्ष उम्मेदवार बिनोद लामा(कोनिका)ले पुरनाहरुले लैङ्गिक अल्पसंख्यकका मुद्धा वेवास्ता गरेका कारण आफूहरुले छुट्टै पार्टी बनाएर चुनाव लड्नु परेको जनाईन् ।
काठमाडौं क्षेत्र नम्बर १० बाट प्रत्यक्ष उम्मेदवारी दिएका पूर्णचन्द्र पौडेलले उत्पीडित तथा सीमान्तकृत समुदायको दबाईको आवजलाई बुलन्द गर्न आफूहरुको उपस्थिति अनिवार्य भएको बताए ।
पार्टीको समानुपातिक उम्मेदवार दृष्टिविहिन–समलिङ्गी महिला प्रतिक्षा चापागाईले आफूहरु जस्तै व्यक्तिहरुलाई संसदमा पुगेर आफ्ना अधिकार कानूनमा लिपिबद्ध गर्न समावेशी प्रतिनिधित्व अत्यावश्यक रहेको बताइन् ।
समावेशी समाजवादी पार्टीका महासचिव मनिन्द्र सिं दनुवारले सबै दलका नेताहरुसँग आफ्नो पार्टीका उम्मेदवारहरुलाई सर्वसम्मत विजयी गराउन अनुरोध गरे । दनुवारले समावेसी कलस्टर अनुसार १५ जना समानुपातिक उम्मेदवारहरु निर्वाचन आयोगमा दर्ता भएको र ६ जना प्रत्यक्षत निर्वाचन लड्ने जनाकारी दिए । त्यसैगरी ओखलढुङ्गा क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्न पिङ्की राईले चुनाव लड्ने जनाकारी दिए ।


अनलाइन डबली



