काठमाडौँ । विश्व शान्तिको चर्को नारा दिएर सत्तामा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाडै आफ्नो बास्तविकता विश्वसामु देखाएका छन् । उनले आफूले विश्व शान्तिको लागि पहल गरिरहेको बताइरहेका छन् ।
तर, व्यवहारमा भने ठिक उल्टो गरेका छन् । ट्रम्पको आदेशमा अमेरिकी सेनाले भेनेजुएलामा सैन्य हमला गरेको छ । उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाले भेनेजुएलामा रातभर बमबारी गरेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएकी छन् ।
उपराष्ट्रपति रोड्रिग्जका अनुसार अमेरिका राजधानी काराकससहित ला कार्लोटा एयर बेस, काटियास्थित क्वार्टेल डे ला मोन्टाना, संघीय व्यवस्थापिका भवन र मुख्य सैन्य कम्प्लेक्स फोर्ट टिउनामा बमबारी गरेको छ ।
त्यसैगरी एल हाटिलोस्थित एक विमानस्थल, बार्किसिमेटोस्थित एफ–१६ बेस नम्बर ३ र काराकस नजिकैको चारालाभस्थित एक निजी विमानस्थलमा पनि अमेरिकाले हवाई हमला गरेको छ ।
अमेरिकाले पूर्णस्तरका सैन्य हमला गरेको भेनेजुएला सरकारले बताएका छन् । अहिले भेनेजुएलामा देशभर संकटकाल घोषणा गरिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगिएको दाबी गरेका छन् ।
भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो भूभागमा गम्भीर सैन्य आक्रामकता देखाएको र काराकाससहितका विभिन्न राज्यमा हमला गरेको पुष्टि गरेको छ । भेनेजुएलाले यसलाई देशको तेल र खनिज स्रोत कब्जा गर्ने उद्देश्यले गरिएको साम्राज्यवादी आक्रमणको संज्ञा दिएको छ ।
भेनेजुएला सरकारले मादुरोबारे स्पष्ट जानकारी गराउन चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई अमेरिकाविरुद्धसडकमा उत्रन र राष्ट्रिय रक्षा योजना लागू गर्न आह्वान गरेको छ ।
उपराष्ट्रपति रोड्रिगेजले आफ्नो देशको सार्वभौमिकतामाथिको हमलाविरुद्ध कडा जवाफ दिने समेत चेतावनी दिएकी छन् ।


अनलाइन डबली


