काठमाडौँ । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोश्रो मिस्टर महानगर शारीरिक सुगठन बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । ‘व्यायाम गरौं, स्वस्थ रहौं’, ‘स्वास्थ्यका लागि व्यायाम’, भन्ने नारासहित शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले सबै तयारी पूरा भएको जानकारी दिए ।
च्याम्पियन्सीपको दोस्रो संस्करण अन्तरगत प्रतियोगिता आउँदो २०८३ जेठ २९ र ३० गते दोस्रो मिस्टर महानगर बडीबल्डिङ च्याम्पियन्सीपको आयोजना गर्न लागेको हो ।
काठमाडौं महानगरस्तरीय हुने बडिबिल्डिङ प्रतियोगिता अन्तर्गत पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुनेछ । तौल नाप्ने तथा फाइनल खेल दुबै काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । गत वर्ष पुरुष तर्फमात्र प्रतिस्पर्धा गराएको मा यस वर्ष महिला तर्फ पनि प्रतिस्पर्धा गराउने आयोजकको तैयारी रहेको छ ।
नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा गराइने छ। यस अन्तर्गत छ तौल समूह, दुईवटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ।
पुरुषतर्फ तौल समूह अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ भने स्पोर्ट फिजिक्स अन्तर्गत १७० सेमी भन्दा माथि र १७० सेमीसम्मको दुई विधामा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक तौल समूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन् । ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद रु. पाँच लाख, ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ ।
फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक खेल समूहबाट प्रथम, दोस्रो, तेस्रो, चौथौं र पाँचौं हुने खेलाडीलाई पदकसहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। यस वर्ष तौल समूहका विजेताहरुको लागि नगदर पुरस्कारको राशी पनि बढाइएको छ। गत वर्ष हरेक तौल समूहका विजेता खेलाडीलाई ७५ हजार नगद पुरस्कार दिइएकोमा यसवर्ष विजेतालाई १ लाख नगद पुरस्कार दिइनेछ। त्यस्तै उपविजेता, तेस्रो, चौथौं र पाँचौं स्थानमा रहने खेलाडीलाई क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइनेछ। त्यस्तै स्पोर्ट फिजिक्स तर्फ पनि पुरुष र महिला दुवै विधामा प्रथम, दोस्रो, तेस्रो, चौथौं र पाँचौं हुने खेलाडीलाई पदकसहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। नगद पुरस्कार अन्तर्गत प्रथम, दोस्रो, तेस्रो, चौथौं र पाँचौं हुनेलाई क्रमसः १ लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।



बुद्धशरण शाही





