ललितपुर ललितपुर महानगरपालिकाको स्थानिय अपांगता समितिमा पाटन सिबिआरलाइ समेट्ने उपप्रमुख मण्जली शाक्यले प्रतिबद्धता जनाएका छन् । नेपालको अपांगता सेवा र समुदायमा आधारित पुनर्स्थापना केन्द्रको इतिहासमा हालसम्म निरन्तरता रहेका एकाध मध्ये कहलिएको पाटन सिबिआर संस्थाको २५औं साधारण सभा एवं १३औं अधिवेशनका प्रमुख अतिधीका रूपमा उहाँले सो प्रतिबद्धता जनाएका हुन । बिशेषत बौद्धिक अनि बहुअपांगता भएकाहरुको अधिकार र संरछ्यण दीर्घकालीन तथा चुनौतीपूर्ण हुने हुँदा यसमा सिबिआर कार्यक्रमको दीगोपनालाइ साथ दिन राज्यको दायित्व हुनुपर्नेमा जोड दिंदै उनले भने, “महानगरको अपांगता समितिमा २ जना रहेकोमा कार्यबिधी संशोधन गरेर भएपनि पाटन सिबिआरलाइ स्थान दिने पहल गर्नेछु ।” पाटन सि बि आरले गर्दै आएको कामको प्रशंसा गर्दै उहाँले अघिल्लो वर्ष महानगरको सहयोग अपुग भएको स्विकार गर्नुभयो । यसतर्फ सहकार्यको दायरा बिकासमा स्वास्थ्य लगायत अन्य कार्यछ्येत्रहरूमा अपांगता समस्याहरुको अभिभावकत्व सम्हालेको सिबिआरलाइ स्थानिय तहसँग नीतिगत छलफल र बजेटको कार्यमा निरन्तर जोडिन आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथी शान्ता खड्गीले सन् १९९५ ताका अपांगता समस्या लुकाउने समाजमा परिवर्तनकालागि पाटन लेडी जेसिस मार्फत रेड बर्ना र सेभ दि चिल्ड्रेनको सहयोग जुटाउँदै सि बि आर लाई स्थापना गर्न कामको स्मरण गर्नुभयो । दातृ संस्थाको सहयोग छुटेपछि पनि सशक्त भई कार्य निरन्तर राखेकोमा पाटन सिबिआरलाइ बधाई तथा सफलताको लागि सदैव साथ रहने उहाँले बताउनु भयो । दातृ संस्थाको सहयोग बन्द हुने चुनौतीपूर्ण समयमा नेतृत्व सम्हालेका संस्थाका पूर्व अध्यछ्य मोतिशान्ती शाक्यले सबैको साथ सहयोगप्रति आभार ब्यक्त गर्दै सिबिआर आफ्नो तिर्थ स्थल रहेकोमा जोड दिनुहुँदै नजिकैको आर्यघाटमै आफ्नो अन्त्येष्टि हुुने हुँदा जीवनलिला समाप्त भएपश्चात पनि आत्मा भएर सिबिआरसंग सदैव जोडिरहने प्रण गर्नुभयो ।
कार्यक्रममा संस्थापक कार्यक्रम निर्देशक हुँदै पूर्व अध्यछ्य समेत रहेका ईन्दिरा जोशीले भन्नुभयो, “यस छ्येत्रको काम अति कष्टकर रहेको र दक्ष जनशक्तिको कमी भएकोले काम गर्न अझ गार्हो छ । यो कुरा जानेरै मनकारीहरूको साथले संस्था टिकेकोमा गौरव लाग्छ । म मरे पनि सिबिआर बाॅचिरहोस् ।” संस्थाका पूर्वअध्यछ्य शाक्य सुरेनले डोनर नभएको वेलामा घर बनाउन पैसा लगानी गर्न नसकेपनि आफ्नो बुद्दिले भ्याएसम्म नीति कार्यक्रम निर्माणमा सहयोग गर्दै आएको स्मरण गर्दै यसमा निरन्तरता रहने बताउनु भयो । कार्यक्रममा अभिभावकका तर्फबाट बेखा महर्जनले शुरूवातमा आफ्नो बच्चालाई के भएको भन्ने थाहा नहुँदाको अवस्थामा सिबिआरको सर्वेबाट नै आफ्नो छोरामा भएको अपागंता पत्ता लागेको र निरन्तर सिबिआरमा ल्याएर आफ्नो र ३३ वर्ष लागेको छोराको स्याहारमा हौसला मिल्दै आएको बताउनु भयो । सिबिआरको महत्व आफ्नो जीवनमा ठूलो रहेको र अभिभावकहरूले पनि संस्थाप्रति सकारात्मक भै सक्दो कार्य गर्न आह्वान गरनुभयो ।
अर्को अभिभावक आभा झाले बिभिन्न बच्चाहरूको फरक फरक आवश्यकता भएकोले तीनका रूची र छ्यमता हेरेर संस्थाले सीपहरूको बिकासमा कार्य गरोस भन्ने ईच्छा ब्यक्त गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथी बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको कार्यालयका प्रतिनिधी चन्द्रा ब्यञ्जनकारले कार्यालय मातहतका कार्यक्रममा सिबिआरलाइ प्राथमिकता दिंदै आएको बताउनुहुँदै यस छ्येत्रमा दीगो बिकासकालागि राज्यको नीति निर्माण तहका ब्यक्तिहरूलाई बारम्वार सिबिआरमा बोलाउनु पर्नेमा ध्यानाकर्षण गराउनु भयो । संस्थागत दीगोपनाकालागि यहाँ उत्पादन भएका सामाग्रीको बजार ब्यवस्थापन गर्न जरूरी भएको उहाँले बताउनु भयो । दिवासेवा प्रभावकारी बनाउन ३६५ दिनलाई खाजा खुवाउने पुग्ने गरि मनकारी सदस्यता बृद्धिको सल्लाह दिनुहुँदै आफ्नो तर्फबाट ब्यक्तिगत सहयोगको घोषणा गर्नुहुँदै कार्यालयबाट सकेको सहयोग गर्ने र कार्यक्रम प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।
२०८०-८२ कार्यकालका अध्यछ्य मीना शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई शिछ्यिका एवं अभिभावक श्रृजना केसी कर्माचार्यले संंचालन गरेका थिए भने कार्यकारी सचिव लूनिभा चित्रकारले कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यछ्य रविन्द्र नाथ मुल्मीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । पाटन सिबिआरको नेतृत्वमा अमृत रत्न शाक्यः अपांगता भएकाहरुको सेवामा २५औं वर्षदेखि समर्पित पाटन सिबिआरको १३औं अधिवेशनबाट पहिलो पटक एक प्रेरणादायी सफल उद्यमी एवं अधिकारकर्मी ह्विलचेयर प्रयोगकर्ता अमृत रत्न शाक्य नेतृत्वमा निर्विरोध निर्वाचित हुनुभएका छन । सिबिआरको कार्यसमिति र उपाध्यछ्य समेत रहिसक्नु भएका शाक्यले हजारौं महिलाहरुलाई ब्यवसायिक सिलाइ तालिम मार्फत ऊद्यमशील बनाउँदै आएका छन।
अधिवेशनबाट शाक्यको नेतृत्वमा निर्विरोध निर्वाचित ११ जनाको कार्यसमितिमा निवर्तमान अध्यछ्य मीना शाक्य, उपाध्यछ्य प्रा.डा. सविना श्रेष्ठ, कार्यकारी सचिवमा लूनिभा चित्रकार, कोषाध्यछ्यमा रविन्द्र नाथ मुल्मी रहनुभएका छन । कार्यसमिति सदस्यहरूमा क्रमशः छाँया जुवा, राजेश बज्राचार्य, चन्द्र धाख्वा, शान्ति बैद्य, राज्यलछ्मी बज्राचार्य, बेखा महर्जन रहनु भएका छन ।


अनलाइन डबली


