आज :

तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजासँगै कुकुर तिहार पनि परेको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

यस वर्ष तिथिको घटबढका कारण कुकर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज नै घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार पनि मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal