
रामेछाप । दैनिक चार हजार बढी ठुला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिए ।
यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए । दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको उनले जानकारी दिए ।
प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी साहयक निरीक्षक मनोज थापाले चाडबाड लक्षित सडक सुरक्षा योजना अन्तर्गत सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । सडकलाई व्यवस्थित गर्न आफूहरू निरन्तर लागेको उनले जानकारी दिए ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट दुम्जाका इञ्चार्ज वरिष्ठ हवलदार पशुपति फुयाँलले ट्राफिक व्यवस्थापनको सन्दर्भमा आफूहरू अहोरात्र खटेर सवारी साधनलाई गन्तव्यमा पु¥याउन सहयोग गरिरहेको बताए ।
यात्रुहरूलाई राम्रो व्यवहार गर्न चालकहरूलाई पर्चा वितरण तथा सम्झाउने काम गरिरहेको उनले जानकारी दिए । अहिले राजमार्गमा कुनै ठुलो समस्या नभएको र यातायात साधन सहज रूपमा सञ्चालन भइरहेका उनले बताए ।