
काठमाडौँ । आज दशैंको दोस्रो दिन । आज नवदुर्गा भवानीको पूजा तथा आराधना गरेर मनाइँदैछ । ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ।
ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्।
पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्।
पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन्। उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरेको मान्यता ।
ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गरिन्छ। विद्यार्थी, साधक र योगीहरूको लागि विशेष फलदायी मानिन्छ।