आज :

तीज पर्व: मौलिकता हराउँदै, भड्किलो र छाडापन बढ्दो

  • अनलाइन डबली

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको प्रमुख पर्वका रुपमा मनाइने हरितालिका तीज पछिल्लो समय मौलिकता गुमाउँदै भड्किलो र महंगो बन्दै गइरहेको छ ।

तीजको सार श्रद्धा, व्रत, आत्मसंयम र पारिवारिक भावनामा केन्द्रित हुन्छ । यस पर्वले महिलाहरूलाई आध्यात्मिक शुद्धता, आत्मबल र सामाजिक एकताको सन्देश दिन्छ । तर बदलिँदो समय र परिवेशसँगै यसको स्वरूप विकृत हुन थालेको देखिन्छ ।

तीजको मूल मर्म भुलिँदै, सांस्कृतिक र धार्मिक पक्षभन्दा पनि देखावटी र उपभोगवादी प्रवृत्तिले यस पर्वलाई ओझेलमा पार्दै लगेको विभिन्न व्यक्तिहरूको धारणा छ ।

धार्मिक आस्थाका साथ व्रत बस्ने र भगवान शिवलाई सम्झेर मनाइने तीजमा पछिल्लो समय मासु–मदिरा सेवन, महंगा दर भोज र नाचगानको नाममा उछ्रिङ्खलता हावी भइरहेको छ । तीजको वास्तविक मर्म के हो भन्नेबारे नेपाल न्यूज बैंकले विभिन्न व्यक्तिहरुसँग कुरा गरेको छ ।

शुद्ध सोच र आस्थाको पर्व हो तीजः सरिता श्रेष्ठ

धार्मिक आस्थावादी सरिता श्रेष्ठ भन्छिन्, ‘तीज भनेको भगवानलाई श्रद्धा पूर्वक सम्झेर, आफूले चाहेको कुरा माग्ने पुण्य अवसर हो । निराहार ब्रत बस्ने परम्परामा अघिल्लो दिन मासु खाएर बस्दा त्यो ब्रतको सार नै मेटिन्छ ।’

उनका अनुसार पाप गरेर पुण्यको काम गर्नुको कुनै अर्थ हुँदैन । ‘सकेसम्म शुद्ध शाकाहारी बन्ने र जनावरको हत्या नगर्ने चेतनशीलता हरेकमा जाग्न जरुरी छ,’ उनले भनिन् ।

विचार परिवर्तनले तीजको स्वरूप बदलिए जस्तो लाग्छः सरिता राजोपाध्याय

कलाकार सरिता राजोपाध्यायले तीजको मूल स्वरूपमा खासै परिवर्तन नभए पनि मानिसको सोच र व्यवहार परिवर्तन हुँदै गएको बताइन् ।

‘पहिलाका आमाबुबा एकपटक दर खान्थे, अहिले तीजको एक महिना अघिदेखि नै दर खाने चलन छ,’ उनले भनिन्, ‘यो समय, परिस्थिति र मान्छेको चाहना भिन्न भएर यस्तो हुँदै गएको हो ।’

उनले तीज मनाउँदा खानपानमा संयमता अपनाउन र सभ्य तरिकाले पर्व मनाउन सुझाव दिइन् । ‘उत्सव जसरी पर्व मनाउनु राम्रो, तर जे पायो त्यो खाएर र जे गरे पनि हुन्छ भन्ने सोच नराखौं,’ उनले भनिन् ।

छाडापन मानव र पृथ्वी दुबैका लागि हानिकारकः कृष्ण गुरुङ

नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङ तीजमा बढ्दो भड्किलोपन र छाडापनलाई मानवीय संवेदनाको उल्लङ्घन मान्छन् ।

‘अरुले गर्ने व्यवहार आफूलाई मन नपरेजस्तै, आफूले पनि अरुलाई अप्ठेरो पार्ने व्यवहार गर्नुहुन्न,’ गुरुङ भन्छन्, ‘पृथ्वी साझा हो, यसमा सबैले बाँच्न पाउने हक छ, तर तीजको नाममा मासु–मदिरा र खर्चिलोपना बढे राष्ट्र, मानव र पृथ्वी तीनैका लागि घातक हुन्छ ।’

उनले तीजलाई मौलिकता नबिगारी मनाउने र आवश्यक सुधार गरेर पर्वको सार जोगाउनुपर्ने आवश्यकता औंल्याए ।

तीज पर्वको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व अझै पनि अमूल्य छ । तर पछिल्लो समय देखिएको तडकभडक, व्यावसायिकता र उच्छृंखलताले यसको वास्तविकता ओझेलमा पर्दै गएको देखिन्छ ।

तीज आत्मशुद्धिको पर्व हो, फेसन, खर्च र प्रतिस्पर्धाको होइन । यसलाई व्यक्तिगत आनन्द र सामाजिक सद्भावको उत्सवका रूपमा मनाउन सकेमा मात्रै तीजको असली मर्म जोगिन सक्छ ।

-आकांक्षा धामी,नेपाल न्यूज बैंक 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal