
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारीलाई झुक्याएर पार्टी सदस्यता नविकरणको रसिद काटेको बताएका छन् । ओलीले रसिद काट्दैमा सदस्यता नविकरण नहुने बताए ।
पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै बोल्दै ओलीले भने, ‘हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।’
प्रधानमन्त्री ओलीले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको र नवीकरण तथा नयाँ सदस्यताका लागि निवेदन नदिएको दाबी समेत गरे । उनले भण्डारीले पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन नदिएको बताए ।
‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले आज आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् ।
यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित केही नेताहरु एमालेमा प्रवेश गरेका छन् ।