
एजेन्सी, भाद्र ४ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनकै सरकारी निवासमा आक्रमण भएको छ । आज बुधबार नियमित साप्ताहिक जनसुनुवाई कार्यक्रम चलिरहेकै बेला एक व्यक्तिले उनीमाथि हातपातको प्रयास गरेका हुन् । सुरक्षाकर्मीले आक्रमण गर्ने राजकोटका ४१ वर्षीय राजेश भाई नाम गरेका व्यक्ति लाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
भारतीय समाचार एजेन्सी पिटिआईकाअनुसार, मुख्यमन्त्री गुप्ताले आफ्नो निवासमा सर्वसाधारणको गुनासो सुन्नका लागि नियमित ‘जनसुनुवाई’ कार्यक्रम राखेकी थिइन् । सर्वसाधारणको गुनासो सुनिरहेकै क्रममा एक व्यक्तिले मुख्यमन्त्री गुप्तालाई थप्पड हानेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसअघि, उनले मुख्यमन्त्री गुप्तालाई कपालमा समातेर तानेर थप्पड हानेका थिए त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मी र अधिकारीहरूबीच हल्लीखल्ली र धकेला-धकेल भएको थियो । धकेला-धकेल भएपछि मुख्यमन्त्री गुप्ता लडेकी थिइन् । उनको टाउकोमा चोट लागेको छ । घटनापछि मुख्यमन्त्री गुप्तालाई चेकजाँचका लागि अस्पताल लगिएको छ ।
भारतीय जनता पार्टी दिल्ली अध्यक्ष विरेन्द्र सचदेवाका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
तर उनले सञ्चारमाध्यमहरूले मुख्यमन्त्रीमाथि थप्पड प्रहार भएको कुरा सत्य नभएको र आक्रमण प्रयास भएपछि ठेलमठेल भएको बताए । मुख्यमन्त्री कार्यालयकै कर्मचारीहरूले भने ती पुरुषले मुख्यमन्त्रीलाई पत्र दिएर अपशब्द बोल्दै थप्पड हानेको बताएका छन् । घटनालगत्तै मुख्यमन्त्रीलाई थप्पड हान्ने भनिएको व्यक्ति पक्राउ परेका छन् । आक्रमण गर्ने व्यक्ति माथि उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ