
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता शुक्रबार अमेरिकी राज्य अलास्काको एन्कोरेजमा सम्पन्न भएको छ ।
लगभग तीन घण्टासम्म चलेको यो बैठक सन् २०२१ पछि दुई देशका राष्ट्रपतिहरू बीचको पहिलो आमनेसामने भेटघाट हो । एन्कोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा वार्ता सम्पन्न गरेपछि दुई राष्ट्रपतिले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले भने कि ‘धेरै वटा बुँदाहरूमा’ वार्तामा सहमति भएको छ ।
उनका अनुसार दुवै पक्षले केही प्रगति हासिल गरेका छन्, यद्यपि कुनै सम्झौता भने भएको छैन् । पुटिनले पनि युक्रेनको सुरक्षा सुनिश्चित गरिनुपर्छ भन्ने कुरामा आफु सहमत भएको भन्दै ट्रम्पसँग भएको सम्झौताले युक्रेनमा शान्तिको बाटो खोल्ने उनले बताए ।
मञ्चमा १० मिनेटभन्दा बढी समयसम्म छेउछाउमा उभिएर, दुवै नेताहरूले उनीहरूको आमनेसामने वार्ताको क्रममा प्रगति भएको संकेत गरे, तर कुनै ठोस सम्झौता भने भएन ।
पुटिनले पारस्परिक सम्मानको रचनात्मक वातावरणमा भएको बताए । उनले राष्ट्र प्रमुखहरू बीचको व्यक्तिगत भेटघाट लामो समयदेखि पर्खिरहेको बताउँदै भने, ‘के भइरहेको छ भन्ने सबै कुरा हाम्रो लागि एउटा त्रासदी र भयानक चोट हो, र रूस यसको अन्त्य गर्न इमानदारीपूर्वक इच्छुक छ ।’
पुटिनले द्वन्द्वको प्राथमिक कारणहरूलाई सम्बोधन गर्न प्रयास गर्नुपर्नेमा जोड दिँदै युक्रेन र युरोपेली देशहरूलाई काममा हतार नगर्न चेतावनी पनि दिए ।
त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तालाई अत्यन्तै उत्पादक भनेर वर्णन गर्दै ठूलो प्रगति भएको बताएक छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई चाँडै फोन गर्ने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका विशेष दूत स्टीव विटकोफ, साथै रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभ छलफलका लागि शिखर सम्मेलनमा सामेल भए ।