
काठमाडौँ । युक्रेनसँग वार्ता गर्न दुईपटक अल्टिमेटम दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः झुकेका छन् । युक्रेनसँग वार्ता सफल नभएपछि पहिला ५० दिन र दोस्रो १० दिने अल्टिमेटम पुटिनले धोती लगाइदिएपछि ट्रम्पले भेटेरै संवाद गर्ने चाहना राखेका छन् ।
तेल किनेको भन्दै भारतलाई ५० प्रतिशत भन्सार कर थोपोरेका ट्रम्प रुसमाथि थप प्रतिबन्द लगाउन भने सकेनन् ।
ट्रम्पले शुक्रबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । बैठकको बारेमा छिट्टै जानकारी गराइने उनले बताए । ट्रम्पले यसअघि नै युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न पुटिनलाई भेट्न चाहेको बताएका थिए ।
यसअघि बुधबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले भनेकी थिइन, ‘रुसले ट्रम्पलाई भेट्ने इच्छा व्यक्त गरेको छ । ट्रम्प पुटिन र जेलेन्स्की दुवैसँग भेट्न तयार छन्।’
अमेरिका र रुसका राष्ट्रपतिबीच अन्तिम भेट सन् २०२१ जुनमा भएको थियो। त्यसबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच जेनेभामा भेट भएको थियो।
ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार पुटिनलाई भेटेका थिए। ट्रम्पले यो भेटलाई महत्वपूर्ण भनेका छन् । रुसको क्रेमलिनको राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले दुई देशबीच युक्रेनको मुद्दामा छलफल भएको बताएका थिए ।