
काठमाडाैँ । भारतलाई २५ प्रतिशत भन्सार कर घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चिढ्याउने अभिव्यक्ति दिएका छन् ।
ट्रम्पले अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौतामा हस्ताक्षर पछि उक्त अभिव्यक्ति दिएका हुन् । सम्झाैताअनुसार दुबै देश मिलेर दक्षिण एसियाली देशको ठूलो तेल भण्डारको विकास गर्नेछन्।
ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्, ‘हामीले भर्खरै पाकिस्तानसँग एउटा सम्झौतामा हस्ताक्षर गरेका छौं, जसअन्तर्गत पाकिस्तान र अमेरिकाले आफ्नो विशाल तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्, हामी यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनोट गर्ने प्रक्रियामा छौं। कसलाई थाहा छ, उनीहरूले कुनै दिन भारतलाई तेल बेच्नेछन् ।’
पाकिस्तानी सरकारी संचारमाध्यमका अनुसार पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेबले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र वाशिंगटन डीसीमा अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरसँगको बैठकमा सम्झाैतालाई अन्तिम रूप दिइएको हो।
पाकिस्तानको तटमा तेलको भण्डार रहेकाे मानिन्छ तर ती भण्डारबाट तेल निकाल्नका लागि कुनै प्रगति भएको छैन।
ट्रम्पकाे प्रतिक्रियापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन ।
हालै अमेरिकासँगको भएको व्यापार सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै उनले यस सम्झौताले दुई देशबीचको सहकार्य बढाउने आशा व्यक्तसमेत गरेका छन्।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौतालाई अन्तिम रूप दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमिकाका लागि म धन्यवाद दिन चाहन्छु । यो (सम्झौता) हिजो राति वाशिंगटनमा दुबै पक्षले सफलतापूर्वक सम्पन्न भएको थियो। यो ऐतिहासिक सम्झौताले हाम्रो बढ्दो सहयोगलाई अझ बलियो बनाउनेछ ताकि हाम्रो स्थायी साझेदारीको सीमा आगामी दिनहरूमा विस्तार गर्न सकिन्छ ।’
भारतको कट्टर दुश्मन देशसँग ट्रम्पको यो सम्झौता र भन्सार करले भारतलाई अमेरिकासँग टाढा बनाउँदै लगेको विश्लेषण गरिएको छ ।