
काठमाडाैँ । फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने भएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार यो घोषणा गरेका हुन् । उनले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा यो मान्यताको औपचारिक घोषणा गर्ने बताए ।
म्याक्रोनले सोशल मिडिया प्लेटफर्ममा लेखेका छन, ‘मध्यपूर्वमा दिगो शान्तिको लागि फ्रान्सको प्रतिबद्धताको एक भागको रूपमा मैले यो निर्णय लिएको छु। शान्ति सम्भव छ। आज सबैभन्दा महत्त्वपूर्ण कुरा गाजामा युद्ध रोक्न र नागरिकहरूको जीवन बचाउनु हो।’
फ्रान्सको निर्णयप्रति प्यालेस्टिनी प्राधिकरणले खुशी व्यक्त गरेको छ भने इजरायलले विरोध गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो निर्णयको कडा निन्दा गरेका छन् । उनले भने, ‘यो निर्णयले आतङ्कवादलाई पुरस्कृत गर्छ र गाजा जस्तो अर्को इरानी समर्थित प्रोक्सीलाई जन्म दिनेछ।’ यस्तो अवस्थामा प्यालेस्टिनी राज्य इजरायलसँग शान्तिमा रहँदैन, तर यसलाई नष्ट गर्न प्रयोग हुनेछ।
फ्रान्सको यो कदमलाई प्यालेस्टाइनी प्राधिकरणले स्वागत गरेको छ । बिहीबार राष्ट्रपति महमुद अब्बासलाई औपचारिक पत्र हस्तान्तरण गरिएको थियो। पीएलओका उपाध्यक्ष हुसेन अल–शेखले भने, ‘हामी म्याक्रोनको निर्णयको प्रशंसा गर्छौं, जसले अन्तर्राष्ट्रिय कानून र प्यालेस्टिनी जनताको अधिकारप्रति फ्रान्सको प्रतिबद्धता झल्काउँछ।’
फ्रान्स प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने सबैभन्दा ठूलो पश्चिमी देश हो। हालसम्म १४० भन्दा बढी देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएका छन् । धेरै युरोपेली देशहरू पनि यसमा समावेश छन्।
प्यालेस्टिनी जनताले स्वतन्त्र राज्यको माग गरिरहेका छन् । यसमा वेस्ट बैंक, पूर्वी जेरुसेलम र गाजा पट्टी समावेश छ। सन् १९६७ को मध्यपूर्व युद्धमा इजरायलले कब्जामा लिएकाे अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।
फ्रान्सको यो निर्णयपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आपत्ति जनाउँदै आतंकवादलाई हौसला थपेको प्रतिक्रिया दिएका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि फ्रान्सको यो निर्णयबाट बेखुसी भएका छन् ।