
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिको संरक्षण गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
आइतबार कांग्रेस सर्लाहीले ‘भ्रष्टाचारीलाई कारवाही कि संरक्षण ?’ नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका हुन् ।
कांग्रेस सर्लाहीले सभापति, पदाधिकारीज्यू नेपाली काँग्रेसको नवौं संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) वारे अनविज्ञ किन ?, काँग्रेसजनको प्रश्न भ्रष्टाचारीलाई कारवाही कि संरक्षण ?, सभापति, महामन्त्री र पदाधिकारीज्यू पार्टी भित्रका भ्रष्टाचारीलाई संरक्षण कहिलेसम्म ? लेखिएका ब्यानरसहित उनीहरु पार्टी कार्यालय सानेपा पुगेका थिए ।
कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काग्रेसको नवौ संसोधित विधान २०७५ को परिछेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
सर्वोच्च अदालतले २०८० फागुन १५ गते वन विनाश गरी भ्रष्टाचार गरेको कसुरमा सभापति सिंहलाई दोषी ठहर गरेको थियो । सर्वोच्चले सिंहलाई चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएको थियो ।