
काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा हुन लायक नभएको बताएका छन् । राजा फर्काउने भन्दै केही दिनदेखि सडकमा व्यक्तिहरु आन्दोलन गरिरहेको तर्फ संकेत गर्दै देउवाले ज्ञानेन्द्र शाहलाई आफूले राम्रोसँग चिनेको बताउँदै संवैधानिक राजा हुन लायक नभएको बताएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती समेत दिए ।
‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ’ देउवाले भने । उनले पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउने बताए ।
राजाविरुद्ध बोल्दा जेल हालेको समेत बताउँदै देउवाले अदालतका कारण आफू जेलबाट छुटेको बताए । उनले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट नभएको ठोकुवा गरे ।
सभापति देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई गणतन्त्रको पक्षमा एकजुट हुन आग्रह पनि गरे ।