आज :

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अधिवेशन: क्रान्तिकारी पत्रकारिताको मार्गचित्र

  • देविराम देवकोटा

सुर्खेत । कर्णाली प्रदेशको मुटु सुर्खेतमा पत्रकारहरूको बाक्लो उपस्थिति थियो। अवसर थियो, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको अधिवेशन। मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र संकायको हलमा आयोजित कार्यक्रमले कर्णालीको पत्रकारिता क्षेत्रलाई एउटा नयाँ बहसतर्फ डोर्यायो।

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर नेपालका अध्यक्ष प्रतीक इच्छूक शर्माले गरेका थिए भने सञ्चालन महासचिव धर्मराज जिसिले गरेका थिए। विभिन्न नेताहरू, पत्रकारहरू र संचारकर्मीहरूको जमघटमा प्रस्तुत भएका विचारहरूले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था र आगामी दिशा स्पष्ट पार्ने प्रयास गरेका थिए ।

क्रान्तिकारी विचार र संगठन निर्माण

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले क्रान्तिकारी पत्रकारिताको महत्त्वबारे प्रकाश पारे। उनले भने, “क्रान्तिकारीहरू विचारको बहस गर्छन्, नीति र योजनामा ध्यान दिन्छन्। पहिलो कुरा नीति र कार्ययोजना हो र त्यही अनुसार संगठन निर्माण गर्छन्।

तर, बुर्जुवाहरू संगठनको नेतृत्वमा मात्रै ध्यान दिन्छन्।” मल्लका अनुसार अहिलेको समयमा व्यापक बहसमार्फत संगठनको नेतृत्व तयार गर्नु आवश्यक छ।

उनले लोकतान्त्रिक गणतन्त्र अहिले खतरामा रहेको भन्दै यसको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। उनले क्रान्तिकारी पत्रकारहरुले त्यसतर्फ कलम चलाउनु पर्नेमा जोड दिए ।

अस्थिरताको कारण र राजनीतिक दृष्टिकोण

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रेस सेन्टर नेपालको जन्म जनयुद्धको मैदानबाट भएको स्मरण गराए। उनका अनुसार यो संगठन जनताको आवाज बुलन्द गर्दै जन्मिएको थियो, तर अहिले कतै वर्गीय पक्षधरता हराउँदै गएको भान पर्न थालेको छ।

शर्माले वर्तमान सरकारलाई ‘पिपलपाते सरकार’ को संज्ञा दिँदै भने, “अहिले सरकार जता हावा चल्छ, त्यतै ढल्किन्छ। यसको मुख्य कारण प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको अभाव हो। जबसम्म यो व्यवस्था ल्याइँदैन, राजनीतिक अस्थिरता रहिरहन्छ।”

कर्णालीमा पत्रकारिताको चुनौती

कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमन्त्री कृष्ण बहादुर जिसि, प्रदेश सभा सदस्य रणसिङ्ग परियार, नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसी, (माओवादी केन्द्र)का केन्द्रिय सदस्य बसन्त शर्मा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष ओपेन्द्र शर्माले कर्णालीमा पत्रकारिताको चुनौतीबारे आफ्नो धारणा राखे ।

ओपेन्द्र शर्माले भने, “अहिलेको समयमा खोजी पत्रकारिताको खाँचो छ। समाजका वास्तविक समस्याहरू उजागर गर्न र समाधानको बाटो देखाउन योजनाबद्ध प्रचार युद्ध आवश्यक छ।”

पूर्वमन्त्री कृष्णबहादुर जिसिले, “पत्रकारहरू व्यवसायिक रूपमा टिकिरहनु छ भने पेशाको व्यवसायीकरण र संस्थागत विकासका लागि नीति बनाउन जरुरी छ।”

सङ्गठन र पत्रकारिताको भावी दिशा

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश संगठनका उपाध्यक्ष लक्ष्मण केसीले आगामी आमसञ्चार विधेयक सञ्चारकर्मीहरूका लागि अनुकूल हुनुपर्ने माग गरे।

अधिवेशनमा स्वागत मन्तव्य राख्दै प्रेस सेन्टरका उपाध्यक्ष गणेश श्रीपाइलीले संगठनमा वर्गीय पक्षधरता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार संगठनले समाजका हरेक तह र तप्काको आवाजलाई प्रतिनिधित्व गर्नु आवश्यक छ।

अधिवेशनले दिएका संकेत

यस अधिवेशनले कर्णालीमा पत्रकारिता व्यवसायिक र खोजमूलक हुनुपर्ने आवाजलाई बुलन्द बनाएको छ। सहभागी वक्ताहरूले संगठनलाई मजबुत बनाउन र पत्रकारहरूलाई नीतिगत रूपमा सशक्त बनाउन आह्वान गरे।

अधिवेशनको समापनसँगै कर्णालीका पत्रकारहरूले एउटा नयाँ बाटो तय गरेका छन् — जहाँ उनीहरू आवाजको प्रतिनिधि मात्रै होइनन्, परिवर्तनका संवाहक पनि हुनेछन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal