
कालिकोट, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, कालिकोटको आयोजनामा जनप्रतिनिधिहरूका लागि समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका उच्च नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल रहेका थिए। विशेष अतिथिका रूपमा पोलिटब्यूरो सदस्य तथा प्रदेश सह-इन्चार्ज महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, केन्द्रिय सदस्य तथा कालिकोट इन्चार्ज जीवन बुढा, केन्द्रिय सदस्य तथा सह-इन्चार्ज गङ्गा खड्का बोगटी, प्रदेश सांसद दुर्ग बहादुर राउत, जिल्ला समन्वय समिति प्रमुख धनजित शाही, जिल्ला संयोजक डम्बर बहादुर शाही लगायतको उपस्थिति थियो। कार्यक्रममा विभिन्न स्थानीय तहका ५०० भन्दा बढी जनप्रतिनिधि तथा पार्टी पदाधिकारीहरूको सहभागिता रहेको थियो।
प्रशिक्षण सत्रमा विभिन्न विषयमा छलफल तथा प्रशिक्षण दिइयो। प्रमुख अतिथि काली बहादुर मल्लले समाजवादको पूर्वाधारका लागि आत्मनिर्भर उत्पादनको महत्त्वबारे प्रकाश पारे। महेन्द्र बहादुर शाहीले स्थानीय तहमा नीति, कार्यक्रम तथा बजेट निर्माणका प्राथमिकताबारे जानकारी गराए। विमला केसीले जनता, पार्टी र सरकारबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण दिइन्। दुर्ग बहादुर राउतले वर्गीय आधारमा समावेशी विकास नीति, देविराम देवकोटाले सूचना तथा सञ्चारको महत्त्व, उमाकान्त न्यौपानेले राजनीति र कानुनबीचको अन्तरसम्बन्ध तथा डा. आर.सी. लामिछानेले सकारात्मक सोचको विकासबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै कालिकोट जिल्ला इन्चार्ज जीवन बुढाले जनप्रतिनिधिहरूले कार्यान्वयन गरेका गतिविधिहरूको समीक्षा, पार्टी र सरकारबीचको सम्बन्धलाई सुदृढ बनाउने विषय, समाजका महत्वपूर्ण क्षेत्रहरू स्वास्थ्य, शिक्षा, रोजगारी तथा सामाजिक सेवाका सवालमा पार्टीले उठाउने विषयहरूबारे छलफल गरिएको बताए। साथै, कालिकोट जिल्लाका समग्र चुनौतीहरू पहिचान गर्दै साझा धारणा बनाउने लक्ष्य कार्यक्रमले लिएको उल्लेख गरे।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जिल्ला संयोजक डम्बर बहादुर शाहीले जानकारी दिए ।