आज :

विधयेकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने

  • अनलाइन डबली

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टिभी पत्रकार संघले आन्दोलनको घोषणा गरेको छ ।

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाइन टिभीकर्मीहरुको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनैपर्ने निश्कर्ष निकालेको छ ।

अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहर छ ।

विधयेकका कतिपय व्यवस्थाले आफूहरुको पेशा मात्रै संकटमा नपारी आलोचना र खवरदारी गर्ने नागरिक अधिकार समेत खोस्ने संघको दावी छ । संघले नागरिक अधिकार नै कुन्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिकहरु पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ ।

संघले गलत व्याख्या भएर दुरुपयोग हुने व्यवस्थाहरुलाई हटाउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने तय गरेको छ ।

संघले यसअघि हिजो नै संघको स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल विधेयककै बारेमा प्रमुख दलका सांसदहरु र सरोकारवालाहरुलाई बोलाएर वृहत छलफल कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी काँग्रेसका सांसद रामहरि खतिवडा, एमालेका सांसद योगेश भट्टराई, रास्वपाका सांसद शिशिर खनाल, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संघको सुझाव अनुसार विधयेकमा संशोधन गराउन आफुहरुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि विधयेकमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे भने पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले संशोधनका लागि सरकार तथा दलहरु तयार नभएमा आन्दोलन गर्ने चेतावनी दिए ।

उनीहरुले अनलाइन टिभीकर्मीहरुलाई जिम्मेवार र व्यवस्थित गराउन संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना समेत दिनु भएको थियो ।

विक्रम सम्वत् २०७६ सालको आजकै दिन अर्थात् माघ २४ गते नेपालमै पहिलो पटक भण्डारीकै नेतृत्वमा युट्युवरहरुको राष्ट्रिय भेला आयोजना गरी अनलाइन टिभी पत्रकार संघको स्थापना भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal