काठमाडौँ । तनावबीच आइतबार ढिलो गरी हमास र इजरायलबीच युद्धविराम लागु गरेका छन् । अन्तिममा एक अर्काप्रति शंका गरेपछि तनावपूर्ण वातावरण बनेपनि दुबै पक्ष युद्धबिरामलाई लागु गर्न सहमत भएका थिए ।
पहिलो चरण अन्तरगत हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ ।
इजरायलले रिहा गरिएका ९० जनामा ६९ महिला र २१ बालबालिका रहेको बताएको छ ।
सम्झौताको पहिलो चरणमा इजरायलले १,९०० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ भने बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ ।
यसैबीच युद्धबिराम लागु भएपछि नेपाली विद्यार्थी विपिन जोशी फर्किने परिवार आशामा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित आमा पद्मा जोशीले छोरा फर्किने आशा बढेको बताउँछन् ।
आफ्नो एक्लो छोरा फिर्ताको लागि पहल गर्न सरकारसँग आग्रह समेत जोशीले गरेकी छन् । तर, पहिलो चरणमा रिहा हुनेमा विपिनको नाम छैन ।
हमास र इजरायलबीच युद्ध भएको १५ महिनापछि युद्धबिराम भएको छ ।