काठमाडौँ । नेपाल पत्रकार महासंघको शुक्रबार देशभर चुनाव हुँदैछ । केन्द्र, प्रदेश र शाखाहरुमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको हो ।
महासंघको चुनावमा सत्ताधारी नेपाली काँग्रेस निकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी तालमेल गरेका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल, नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेसलगायत केही स्वतन्त्र संगठनहरु एकठाउँमा उभिएका छन् ।
बालुवाटारको दबाबमा महासंघको नेतृत्व प्रेस चौतारीलाई दिएको भन्दै प्रेस युनियनभित्रको असन्तुष्टि केन्द्र, प्रदेश हुँदै जिल्लासम्म पुगेको छ । केन्द्रमा रमेश विष्टको नेतृत्वमा विद्रोह भएको छ । विद्रोही युनियनले प्रेस सेन्टरसँग सहकार्य गर्दै चुनावी मैदानमा उत्रिएको छ ।
प्रेस युनियनको संस्थान पक्षले प्रेस चौतारीसँगै रहेको छ । तर, प्रेस युनियनले नै चौतारीलाई मतदान नगर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । प्रेस युनियन ओखलढुंगाले एक विज्ञप्ति जारी गरेर जिल्लामा अपवित्र गठबन्धन गरेको भन्दै चौतारीका उम्मेदवारलाई मतदान गर्न बाध्य नहुने चेतावनी दिएको छ ।
अध्यक्ष राजकुमार कार्की र सचिव युवराज पहाडीले जारी गरेको विज्ञप्तिमा जिल्लामा आफ्नो संगठनलाई पाखा लगाउँन चौतारीले गठबन्धन गरेको भन्दै भत्र्सना समेत गरिएको छ ।
‘सञ्चारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ जस्तो गरिमामय संस्थालाई प्रतिनिधिमूलक बनाउने उद्देश्यले पहल गरेको नेपाल प्रेस युनियनलाई पाखा लगाई ओखलढुंगामा अपवित्र गठबन्धन गर्ने प्रेस चौतारी र संघीय प्रेस फोरमको कार्यप्रति घोर भत्र्सना गर्दै केन्द्र र प्रदेशमा गठबन्धित प्रेस चौतारीका उम्मेदवारहरुलाई मतदान गर्न बाध्य नहुने कुरा दुःखका साथ विज्ञप्तिमार्फत जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, प्रेस चौतारीका कारण कोशी प्रदेशका अधिकांश जिल्लाहरुमा गठबन्धनमा समस्या उत्पन्न भएको भन्दै प्रेस चौतारी र संघीय प्रेस फोरमका उम्मेदवारलाई मतदान नगर्न प्रेस युनियनले आफ्ना सदस्यहरुलाई अपील समेत विज्ञप्ति गरिएको छ ।
यस्ताे छ विज्ञप्तिः