काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेपनि अहिलेको राजनीतिक नेपाली काँग्रेस र नेकपा एमालेको हातमा नभएको बताएका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेस र एमालेका नेताहरुलाई विचौलियाहरुलाई घुमाएर रातको अँध्यारोमा आआफ्नो घर घुमाएर नेताहरुलाई उठबस गराएको दाबी गरे ।
‘अहिले सरकारमा भएका राजनीतिक दलका नेताको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले घुमाएर रातको अँध्यारोमा आआफ्नो घरमा नेताहरुलाई उठबस गराएर हामीले भनेको माने राख्छौं, नत्र राख्दैनौं भने’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले संख्याको बल देखाएर आफूलाई सरकारबाट हटाएको भन्दै अब जनताको तागत देखाउने अभियानमा अघि बढेको बताए । उनले जनता र राष्ट्रप्रतिको निष्ठा विश्वाससहित आफूहरुले गरेको कमीहरुको समिक्षा गर्दै आफूहरुले जनताको तागत देखाउनुपर्ने बताए ।
प्रचण्डले भने, ‘हामीले सरकार छाड्दैगर्दा जनता र राष्ट्रप्रतिको निष्ठा विश्वाससहित आफूहरुले गरेको कमीहरुको समीक्षा गर्दै हामीले जनताको तागत देखाउनुपर्नेछ, विचौलियाहरुले संख्याको तागत देखाए । त्यसैले हामीले फेरि जनताको तागत देखाउन जनताको बीचमा गएर नयाँ अभियान चलाउँछौं ।’