काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अर्थ मन्त्रालयको आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गर्ने सहमति भएपछी दाताका परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो ।
मन्त्री पौडेलले एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने बताए ।
यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबात अब दाताका परिवारले थप एक लाख पाउने छ ।
यसै गरि अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ र्पुयाएको छ ।
अहिलेको कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन । तर मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जिवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।
देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन । हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ ।