काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित तीन पार्टीले आफ्ना उम्मेदवारलाई जिताउन संयुक्तरुपमा चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
शुक्रबार दिउँसो चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा तीन पार्टीका नेताहरुले कीर्तिपुरबासीको अवस्था बदल्न नगरपालिकाकाे मेयरमा प्रा.डा. शिवशरण महर्जनकाे टीमलाई विजयी गराउन तीन दलले अपिल गरेका छन् ।
त्यस्तै, वडा नं. १ को अध्यक्षमा सरल गोपाल महर्जन र ४ नं. वडाका अध्यक्षमा नारायण विष्टलाई जिताएर सुशासन र भ्रष्टाचारमुक्त कीर्तिपुर बनाउन नेताहरुले अपील पनि गरेका छन् ।
प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरुले कीर्तिपुरबासीको लागि लामो समयदेखि निस्वार्थ रुपमा काम गरेका उम्मेदवार अगाडि सारेको बताए । सापकोटाले प्रा.डा. शिवशरण महर्जनको टीमलाई जिताए मात्रै कीर्तिपुरबासीले खोजेको नगर बन्ने बताए । ‘हामीले तपाईँको लागि मरिमेट्ने व्यक्तिहरुलाई अगाडि सारेका छौं, उहाँलाई जिताउनुभयो भने तपाईँहरुले खोजेको कीर्तिपुर बन्नेछ’ सापकोटाले भने ।
त्यसैगरी जनता समाजवादी पार्टीका पोलिट्ब्यूरो सदस्य पञ्चलाल महर्जनले आफूहरुले यसअघि नेपाली काँग्रेससँग सहकार्य गरेको तर प्रतिवद्धताअनुसार काम नगरेको कारण अपेक्षा गरेअनुसार काम गर्न नसकेको बताउँदै व्यवस्था ल्याउन योगदान गरेको पार्टीसँगको सहकार्यले कीर्तिपुरबासीको अवस्था परिवर्तन हुने बताए । उनले माओवादी केन्द्रले अगाडि सारेका मेयरका उम्मेदवार वौद्धिक, इमान्दार र कीर्तिपुरको लागि योगदान दिएका व्यक्तिलाई उम्मेदवारी दिएको बताउँदै उनको टीमलाई जिताउन सबै मतदातालाई अपील समेत गरे ।
त्यस्तै, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश खड्कीले डा. शिवशरणको टीमले जितेमात्रै कीर्तिपुरबासीको अवस्था परिवर्तनको अनुभव गर्ने बताउँदै जिताउनु पर्ने बताए । उनले तीनै उम्मेदवारले जिते कीर्तिपुरमा मौलाउँदै गरेको बेथितिको अन्त्य हुने बताए ।
त्यसैगरी मेयरका उम्मेदवार डा. शिवशरण महर्जनले आफूले जितेमा भ्रष्टाचारमुक्त कीर्तिपुर बनाउने अभियान चलाउने बताए । उनले अहिलेसम्मका सबै अस्तव्यस्त र कुशासनको अन्त्य गरेर सुशासनको जग बसाउने प्रतिवद्धता जाहेर समेत गरे । डा. महर्जनले आफूले सरकारबाट पाउने सबै सेवा सुविधा नलिने औपचारिक रुपमा घोषणा समेत गरे ।
‘मैले जितेमा सरकारबाट पाउने सेवा सुविधा केही नलिने घोषणा गर्दछु, नगरप्रमुखको रुपमा पाउने सम्पूर्ण सेवा सुविधालाई जनताको हितमा लगाउने छु । कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउने छु । सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिने लागि पर्नेछु’ डा. महर्जनले भने ।
त्यसैगरी वडा नं. ४ का उम्मेदवार इन्जिनियर नारायण विष्टले आफूले कीर्तिपुरबासीको लागि १६ बर्षदेखि सेवा गर्दै आएको बताउँदै आफूहरुले जिते अवस्था परिवर्तनको अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
त्यस्तै, वडा नं. ४ का वडाअध्यक्षका उम्मेदवार सरल गोपाल महर्जनले पनि आफूहरुले जित्ने विश्वास व्यक्त गर्दै कीर्तिपुरबासीले भोग्दै आएका समस्याबाट मुक्त गराउन रातदिन लाग्ने प्रतिवद्धता जाहेर गरे ।
त्यस्तै, माओवादी केन्द्रकी नगर सचिव दयालक्ष्मी महर्जनले अग्रगामी सोँच राख्ने कीर्तिपुरबासीले यसपटक डा. शिवशरण महर्जनको टीमलाई जिताउने विश्वास व्यक्त गर्दै सुशासनको जग बसाल्ने बताइन् ।
माओवादी केन्द्र नगर समितिका इन्चार्ज हिरा बहादुर महर्जन र अध्यक्ष दिलबहादुर महर्जनले डा. शिवशरण महर्जनको टीमलाई जिताएर कीर्तिपुरबासीले अवस्था परिवर्तनको अभियानमा सहभागी हुने विश्वास व्यक्त गरे । उनिहरुले कीर्तिपुरको विकासको लागि केही गरौं भन्ने हुटहुटी भएको उम्मेदवार पार्टीले अगाडि सारेको बताउँदै त्यो कुरा मतदाताले बुझेको बताए ।
चुनावी प्रतिवद्धता