काठमाडौँ । सरकारले बील तिर्न अटेर गर्ने उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक र प्राधिकरण बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको हो ।
सरकारको यो निर्णयसँगै प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको थियो ।
प्राधिकरणका अनुसार मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो । हिजो राति ६ उद्योगमा लाइन जोडिएको थियो । अहिले थप उद्योगमा जोड्न थालिएको छ । आजसम्म लाइन काटिएका सबै उद्योगमा जोडिसक्ने प्राधिकरणले जनाएको छ ।
महसुल भुक्तानी तिर्न अटेर गर्ने उद्योगमा पनि लाइन जोड्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सरकार उद्योगीहरुको प्रभावमा परेर लाइन जोड्ने निर्णय गरेको विपक्षी दलका नेताहरुले बताएका छन् ।