काठमाडौँ । आजबाट त्रिभुवन विमानस्थल दैनिक १० घण्टा उडान कटौती हुने भएको छ । सरकारको गुरुयोजना अनुसार विमानस्थलको स्तर वृद्धिको काम सुरु हुने भएकोले दैनिक ३५ प्रतिशत उडान कटौती हुने भएका हुन् ।
विमानस्थलले आजबाट २०८१ कात्तिक २३ देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म राकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य गर्ने जनाएको छ । चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुने छैन ।
शुक्रबार राति १० बजेको अन्तिम उडानपछि काठमाडौं विमानस्थलबाट हरेक दिन पहिलो उडान बिहान ८ बजेमात्रै हुनेछ । र, राति १० बजेअघि अन्तिम उडान भइसक्नुपर्ने छ ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्ड अनुसार सरकारले धावनमार्गबाट ७५ मिटरसम्मको संवेदनशील क्षेत्रका निर्माण गर्न लागेको हो ।
विमानस्थल अहिले बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक दुईतर्फी आउनेजाने गरेर ३ सय वटा आन्तरिक र १ सयवटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यतिबेला नेपाल सरकार र एसियाली विकास बैंकको ऋण सहायतामा करिब १५ अर्ब रुपैयाँका तीनवटा फरक फरक ठेक्का सञ्चालनमा छन् ।