काठमाडौं । आजबाट तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट काठमाडौं आइसकेका छन् । ५५ देशका र स्वदेशी गरी एक हजार छ सय जनाभन्दा धेरैको सहभागिता सुनिश्चित भएको छ ।
लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सय जनाभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो ।
बोर्डका अनुसार सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । विदेशबाट सबैभन्दा धेरै चीनका २ सय ६५ जना लगानीकर्ता सम्मेलनमा सहभागी हुन लागेका छन् । त्यस्तै, भारतका एक सय ४३, अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् ।
त्यसैगरी दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी ुन लागेका छन् भने पाकिस्तानबाट आठ, सिङ्गापुरबाट छ, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने बोर्डले जनाएको छ ।
सरकारले सम्मेमलनमा १ सय ५० आयोजना राख्ने तयारी गरेको छ । सम्मेलन स्थलमा २३ वटा प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।
बोर्डका अनुसार पहिलो दिन उद्घाटन सत्र र दुई वटा मुख्य सत्र रहेका छन् । भोलि दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।
लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन स्थल ताहाचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् ।
सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालको निजी क्षेत्र सहआयोजकका रूपमा रहेको छ ।