काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र चलायमान बनाउन आफूले धेरै मिहेनत गरेको बताएका छन् । शनिबार काठमाडौँको कीर्तिपुरबासीसँगको छलफलको क्रममा प्रचण्डले नेपाल श्रीलंका बन्छ भन्ने आतंक अब नभएको बताए ।
मौर्दिक नीति र वित्तिय नीति सुधार, बैंकको ब्याजदर घटाउन, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउने निर्णयले अर्थतन्त्र सुधार भएको तर भनेजस्तो परिणाम नआएको बताए । अब नेपाल श्रीलंका बन्द भन्ने आतंक नभएको बताउँदै प्रचण्डले भने, “मौर्दिक नीति र वित्तिय नीति सुधार गर्नका लागि, बैंकको ब्याजदर घटाउनका नीम्ति, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका नीम्ति धेरै मिहेनत गरियो । भनेजस्तो परिणाम आएको छैन तर केही सुधार भएको छ । पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन ।”
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले अहिले राजस्व पनि बृद्धि हुन थालेको र इतिहासमै बढी पर्यटक एकै महिनामा भित्रिएको बताए । त्यस्तै, रेमिट्यान्स बढ्नुको साथै बिदेशी मुद्राको सञ्चिती अत्यन्त उत्साहप्रद रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको बताउँदै अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहार लगतै बृहत भेलाको आयोजना गर्न लागेको जानकारी समेत लिए । त्यसले अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने प्रधानमन्त्रीले बताए ।