काठमाडौं । सरकारले आउँदै गरेको दशै तथा तिहारमा कृतिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यबृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बजारमा कृतिम अभाव सिर्जना गर्ने र नाफाखाेरी गर्ने व्यक्ति र फर्मलाई कारवाहीको लागि सूचना दिन समेत सबैसँग आग्रह गरेको छ ।
सरकारले हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिनुहुन आम उपभोक्ता वर्गलाई अनुराेध समेत गरेको छ ।
त्यस्तै, उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरुलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने समेत सरकारले निर्णय गरेको छ ।
यसैबीच चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको छ । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने जनाएको छ ।
चिनी, गेडागुडी र दलहनको भने मूल्य यथावत नै रहेको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार चामल, तेल, आँटा पीठो लगायतको खाद्यान्नको मूल्य होलसेलमा घटेको छ ।
संघका अनुसार बजारमा हाल बिक्रीमा रहेको सोना मन्सुली, जिरा मसिनो, लङग्रेनदेखि मोटा चामलको मूल्य प्रतिबोरा ५० रुपैयाँले घटेको छ ।
नयाँ मूल्यअनुसार २३ सय रुपैयाँ पर्ने २५ किलोको बोराको चामलको मूल्य २२ सय ५०, २२ सय रुपैयाँ पर्ने २५ किलोको चामलको मूल्य २१ सय ५० र २१ सय रुपैयाँ पर्ने चामलको मूल्य होलसेलमा घटेर २ हजार ५० रुपैयाँमा झरेको छ । यस्तै, २५ किलोको बोरालाई १९ सय ५० रुपैयाँ पर्ने मन्सुली चामलको मूल्य १०० रुपैयाँले घटेर १८ सय ५० रुपैयाँमा आइपुगेको छ ।
यस्तै खाने तलेको मूल्य होलसेलमै लिटरमा २२ रुपैयाँसम्मले सस्तो भएको छ । दुई सय रुपैयाँसम्म लिटरमा होलसेलमा बिक्री भइरहेको तेलको मूल्य १७८ रुपैयाँसम्मले घटेको छ । तोरीको तेलको मूल्य लिटरमा १० रुपैयाँले घट्दा सबै प्रकारका सूर्यमुखी तेल र भटमासको तेलको मूल्य भने लिटरमा २२ रुपैयाँले घटेको हो ।
नयाँ मूल्यअनुसार १७८ रुपैयाँ होलसेलमा सूर्यमुखी र भटमास तेल, १९० रुपैयाँ लिटरमा तोरीको तेल आइपुगेको छ ।
मैदाको मूल्य पनि किलोमा ३ रुपैयाँले घटेको छ । किलोमा ५९ रुपैयाँ पर्ने मैदाको मूल्य अब ५६ रुपैयाँमा आइपुगेको छ ।