काठमाडौं । आजाबाट संसदमा प्रि-बजेटमाथि छलफल सुरु हुँदैछ । प्रि-बजेटको रुपमा हेरिने बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
संसद सचिवालयका अनुसार आजदेखि २७ गतेसम्म प्रि-बजेट छलफल हुनेछ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल हुनेछ । अर्थमन्त्री प्रकाशशरण महतले २७ गते त्यसको जवाफ दिने कार्यक्रम रहेको छ ।
जेट अधिवेशनको पहिलो दिन वैशाख २४ गते अर्थमन्त्री डा. महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिसकेका छन् ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि-बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।
प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।
सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।