काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । प्रधानमन्त्रीले बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताए ।
२५६७औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धको त्याग, विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले ‘बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी समेत गराए ।
‘नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ, बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्’ शुभकामना सन्देशमा भनिएको छ ।
यस्तो प्रधानमन्त्रीको शुभकामना सन्देशः
२५६७ औं बुद्ध जयन्तीको सुखद् अवसरमा बौद्ध धर्मालम्बी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको छ । बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो । दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ । तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो ।
नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् । मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।
अन्त्यमा, यस महत्वपूर्ण अवसरमा बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्धक्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै बुद्ध जयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।